लेख विवरण

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल पुस २६ बाट

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल पुस २६ बाट

काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल तोकिएको मिति पुस २६ गतेबाट सुरु हुने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमबार डबल लिगका आधारमा हुने ए डिभिजन लिग पुस २६ देखि सुरु भएर जेठ २० गतेसम्म हुने जनाएको छ ।

एन्फाले लिग आयोजनाका लागि सोमबार ए डिभिजन क्लबसँग छलफल गरेको थियो । छलफलमा पुस २६ गतेबाट लिग सुरु गर्न क्लबहरू सहमत भएको एन्फाले जनाएको छ ।

यस्तै एन्फाले क्लबलाई उपलब्ध गराउँदै आएको तयारी खर्चमा १० लाख रुपैयाँ वृद्धि गरेको छ ।

एन्फाले अब लिगको तयारीका लागि ए डिभिजनका प्रत्येक क्लबलाई ३२ लाख ५० हजार रुपैयाँ उपलब्ध गराउने छ।

क्लबको तयारी खर्चमा वृद्धि गरिए पनि पुरस्कार रकम यथावत् राखिएको छ ।

यस पटक पनि लिगको विजेताले ७५ लाख, दोस्रो टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन् ।

फेयर प्ले अवार्डको नगद पुरस्कार वृद्धि गर्दै ३ लाख पुर्‍याइएको छ ।

मोस्ट भ्यालुएबल खेलाडीले ३ लाख, सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट गोलकिपरले २ लाख र इमर्जिङ प्लेयरले १ लाख ५० हजार रुपैयाँ पाउने छन् ।

प्रत्येक खेलको विजेता क्लबले म्याच मनिबापत ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । बराबरी भएका दुई क्लबबिच रकम बराबर बाँडिनेछ । हरेक खेलको म्यान अफ द म्याचले १० हजार रुपैयाँ पाउनेछन् ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.