साउदीको क्लब अल नासरमा आवद्ध भए रोनाल्डो
काठमाडौं । क्रिस्टियानो रोनाल्डो साउदी अरेबियाको क्लब अल नासेरमा आवद्ध भएका छन । उनले अल नासेरसँग २० करोड युरो ( करिब २८ हजार करोड रुपैयाँ)को सम्झौता गरेका छन् । ३७ वर्षीय रोनाल्डोको क्लबसँग २०२५ सम्मको सम्झौता छ । रोनाल्डोले मनपर्ने नम्बर ७ छापिएको अल नासेरको जर्सीसहितको तस्बिर सामाजिक सञ्जालमा सेयर गरेका छन् ।
टोलीमा आवद्ध भएपछि उनले अल नासेरमा खेल्न आतुर रहेको बताए । ‘युरोपियन फुटबलमा मैले गर्न चाहेको सबै कुरा हासिल गर्न पाउँदा म भाग्यमानी छु,’ उनले थपे। 'अब मलाई लाग्छ कि एसियामा मेरो अनुभव साझा गर्ने यो सही समय हो।'
अल नासेरले साउदी अरेबिया प्रो लिगको उपाधि ९ पटक जितेको छ । पछिल्लो पटक क्लबले सन् २०१९ मा यो उपाधि जितेको थियो ।

टिप्पणी लेख्नुहोस्