लेख विवरण

सानिया मिर्जाद्धारा सन्यासको घोषणा

सानिया मिर्जाद्धारा सन्यासको घोषणा

काठमाडौं । भारतकी ३५ वर्षीया स्टार महिला टेनिस खेलाडी सानिया मिर्जा अहिले प्रतिष्ठित प्रतियोगिता अस्ट्रेलियन ओपनमा व्यस्त छिन् । प्रतियोगिताकै बीच उनले आफ्नो करियरसँग सम्बन्धित ठूलो निर्णय लिएकी छिन् । सानियाले जारी प्रतियोगिता उनको अन्तिम प्रतियोगिता हुने बताएकी छिन । आफ्नो सन्यासको बारेमा कुरा गर्दै उनले भनिन, ‘मैले यो मेरो अन्तिम सिजन हुने निर्णय गरेकी छु । मलाई थाहा छैन कि म पूरै सिजन खेल्न सक्षम हुनेछु, तर म पूरै सिजन प्रतियोगितामा रहन चाहन्छु।' थप कुरा गर्दै उनले भनिन, 'म राम्रो खेल्न सक्छु तर अहिले मेरो शरीरले पहिले जस्तो साथ दिन सकेको छैन । यो मेरो लागि सबैभन्दा ठूलो दुखद कुरा हो।'

भारतको मुम्बईमा जन्मेकी सानियाले सन् २००९ मा अष्ट्रेलियन ओपन, २०१२ मा फ्रेन्च ओपन, २०१४ मा युएस ओपन, २०१५ मा विम्बल्डन, २०१६ मा युएस ओपन र २०१६ मा अष्ट्रेलियन ओपन महिला युगलको उपाधि जितेकी छिन् ।

सानियाले आफ्नो व्यावसायिक टेनिस करियर सन् २००३ मा सुरु गरेकी थिइन् । त्यसयता उनले टेनिस खेलेको करिब १९ वर्ष भइसकेको छ । उनी भारतको सबैभन्दा ठूलो महिला टेनिस खेलाडी पनि हुन्।

टेनिसमा उत्कृष्ट प्रदर्शन गरेबापत सानियालाई भारतको प्रतिष्ठित अवार्डहरुबाट पनि सम्मानित गरिएको छ । उनले पद्मभूषण, अर्जुन पुरस्कार, पद्मश्री, मेजर ध्यान चन्द खेल रत्न पुरस्कार जस्ता धेरै प्रमुख पुरस्कारहरू प्राप्त गरेकी छिन ।

मिर्जाले १२ अप्रिल २०१० मा पाकिस्तानी अलराउन्डर क्रिकेट खेलाडी शोएब मलिकसँग विवाह गरेकी थिइन । मिर्जाको इझान मिर्जा मलिक नामको छोरा पनि छन ।

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.