सूर्य नेपाल च्यालेन्ज गल्फ प्रतियोगिताको उपाधि भुवनलाई
काठमाडौँ । सूर्य नेपाल च्यालेन्ज गल्फ प्रतियोगिताको उपाधि भुवन नगरकोटीले जितेका छन । पार ६८ को रोयल नेपाल गल्फ क्लबमा शुक्रबार सम्पन्न चारदिने ७२ होलको प्रतियोगितामा भुवनले कूल १३ अन्डर दुई सय ५९ खेले ।
अन्तिम दिन शुक्रबार भुवनले दुई अन्डर ६६ खेलेका थिए । उपाधिसँगै भुवनले एक लाख रुपियाँ पुरस्कार पाए । भुवनको यो खेल जीवनको १०औँ उपाधि हो । कूल नौ अन्डर दुई सय ६३ खेलेका जयराम श्रेष्ठ दोस्रो भए । उनले ६५ हजार रुपियाँ पुरस्कार पाए । कूल ६ अन्डर दुई सय ६६ स्कोरका साथ सन्जय लामा तेस्रो भए । उनको हातमा ४६ हजार रुपियाँ पुरस्कार पर्यो ।
एमेच्योरतर्फको उपाधि सुवास तामाङले जिते । उनले कूल पाँच अन्डर दुई ६७ स्कोर खेलेका थिए । सुवास १३ औँ दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्णधारी हुन । सूर्य नेपाल गल्फ टुर अन्तर्गत बर्षको छैटौँ स्पर्धाको रुपमा आयोजित प्रतियोगितामा प्रोतर्फ शीर्ष २१ मा रहने खेलाडीले आकर्षक नगद पुरस्कार प्राप्त गरे ।
कूल पाँच लाख ४५ हजार रुपियाँ पुरस्कार राशी रहेको प्रतियोगितामा २२ एमेच्योर सहित ५९ गल्फरको सहभागिता रहेको थियो । एमेच्योरतर्फका विजेतालाई ट्रफी प्रदान गरियो । विजेतालाई सूर्य नेपाल प्रालिका ब्रान्ड म्यानेजर रजत थापा, रोयल नेपाल गल्फ क्लबका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठ लगायतले पुरस्कार प्रदान गरे ।

टिप्पणी लेख्नुहोस्