लेख विवरण

सूर्य नेपाल वेस्टर्न ओपन गल्फको दोस्रो दिन सुवास शीर्षस्थानमा

सूर्य नेपाल वेस्टर्न ओपन गल्फको दोस्रो दिन सुवास शीर्षस्थानमा

कास्की । पोखरामा जारी सूर्य नेपाल वेस्टर्न ओपन गल्फको आज दोस्रो दिनको खेलमा साविक विजेता एमेच्योर खेलाडी सुवास तामाङ शीर्षस्थानमा उक्लिएका छन ।

पोखराको हिमालयन गल्फ कोर्समा सूर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गतको चौथो प्रतियोगितामा तामाङ चार अन्डर ६५ को सानदार स्कोर तयार पार्दै शीर्षस्थान सुरक्षित गरेका हुन ।

प्रतियोगितामा ३६ होलको समाप्तिमा समग्रमा एक अन्डर एक सय ३७ स्कोरसहित सुवासले पहिलो दिनका लिडर भुवन नगरकोटीलाई एक स्ट्रोकले पछि पारेका हुन । भुवनले आज दुई ओभर ७१ स्कोर गरे । समग्रमा इभन पार एक सय ३८ को कार्डसहित दोस्रो स्थानमा छन ।

समग्रमा एक ओभर एक सय ३९ स्कोरसहित भेट्रान गल्फर रामे मगर र सञ्जय लामा संयुक्तरूपमा तेस्रो स्थानमा छन । रामेले एक अन्डर ६८ र सञ्जयले इभन पार ६९ को कार्ड बनाए ।

नेपालका नम्बर एक गल्फ खेलाडी शुक्रबहादुर राई दलबहादुर लामासँग समग्रमा चार ओभर एक सय ४२ सहित संयुक्तरूपमा पाँचौँ स्थानमा छन । शुक्रले इभन पार ६९ र दलले दुई ओभर ७१ स्कोर गरे ।

समग्रमा पाँच ओभर एक सय ४३ को नतिजामा जयराम श्रेष्ठ सातौँ स्थानमा छन । उनले आज एक अन्डर ६८ को स्कोर निकाले । राष्ट्रिय टिमका खेलाडी सद्भाव आचार्यले पाँच ओभर ७४ को खराब प्रदर्शन गर्दा समग्रमा सात ओभर एक सय ४५ सहित आठौँ स्थानमा झरेका छन । एमेच्योरतर्फ भने उनी दोस्रो स्थानमा छन ।

समग्रमा आठ ओभर एक सय ४६ को नतिजामा भुवनकुमार रोक्का, धनबहादुर थापा र एमेच्योर खेलाडी प्रज्वल थापा संयुक्तरूपमा नवौँ स्थानमा छन । प्रतियोगिताको ३६ होलको समाप्तिमा १६ ओभर एक सय ५४ सम्म स्कोर गरेका २१ प्रोफेसनल र सात एमेच्योर खेलाडीले कट बनाएका छन ।

प्रोफेसनल खेलाडी दीपक आचार्य, सूर्यप्रसाद शर्मा, दिनेश प्रजापति, रवि खड्का, शिवराम पौडेल, निरज तामाङ, भुबहादुर गुरुङ, टङ्कबहादुर कार्की, कृष्णमान राजवाहक, कमल तामाङ, प्रदीपकुमार लामा, सविन सापकोटा, बलभद्र राई तथा एमेच्योर गल्फर अजित विक, सुरेश तामाङ, महेन्द्र फगामी र युवराज भुजेलले कट बनाएको आयोजकले जनाएको छ ।

चौवन्न होलको प्रतियोगितामा ३१ व्यावसायिक र १४ एमेच्योर गरी कुल ४५ खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् । प्रोफेसनल गल्फर्स एशोसिएशन नेपालको आयोजना र सूर्य नेपाल प्रालिको प्रायोजनमा सञ्चालित प्रतियोगिताको विजेताले रु एक लाख ४० हजार, उपविजेताले रु ९० हजार र तेस्रो हुने खेलाडीले रु ६७ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.