सेनेगल र इजिप्ट अफ्रिका कप अफ नेसन्स फुटबलको सेमिफाइनलमा
एजेन्सी । साविक उपविजेता सेनेगल र इजिप्ट अफ्रिका कप अफ नेसन्स फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । क्यामरुनमा आइतबार राति भएको खेलमा सेनेगलले इक्वेटोरियल गिनियालाई ३–१ गोलले हरायो । अर्को खेलमा इजिप्टले मोरक्कोलाई २–१ गोलले स्तब्ध बनायो ।
सेनेगलको जितमा फामरा दिधिओउ, चेइखोउ कोउयाटे र इस्माइला सारले गोल गरे । इक्वेटोरियल गिनियाका जान्निक बुयाला सामले सान्त्वना गोल फर्काए । सेनेगलले २८औँ मिनेटमा फामरा दिधिओउको गोलबाट अग्रता लिएको थियो ।
त्यसपछि ५७औँ मिनेटमा जान्निक बुयाला सामले गोल गर्दै खेललाई बराबरीमा ल्याए । उनले पाब्लो गानेटको पासमा गोल गरेका थिए । ६८औँ मिनेटमा चेइखोउ कोउयाटेले गोल गर्दै सेनेगललाई पुनः अग्रता दिलाए । ७९औँ मिनेटमा इस्माइला सारले सालिओउ सिसको पासमा गोल गर्दै सेनेगललाई सजिलै जिताए । सेमिफाइनलमा सेनेगलले बुर्किना फासोसँग प्रतिस्पर्धा गर्नेछ ।
अर्को खेलमा इजिप्टलाई जिताउन कप्तान मोहम्मद सलाह र ट्राजीग्वेटले गोल गरे । मोरक्कोका सोफिएन बोउफलले गोल फर्काए । इजिप्टले अतिरिक्त समयमा पूनरागमन जित निकालेको हो । सातौँ मिनेटमा सोफिएन बोउफलको पेनाल्टीमार्फत गोल गर्दै मोरक्कोलाई अग्रता दिलाए ।
५३औँ मिनेटमा सलाहले गोल गर्दै खेललाई बराबरीमा ल्याए । निर्धारित ९० मिनेटमा थप गोल निस्कन नसक्दा खेल अतिरिक्त समयमा धकेलिएको थियो । एक सयौँ मिनेटमा ट्राजिग्वेटले गोल गर्दै इजिप्टको जित पक्का बनाए । सेमिफाइनलमा इजिप्टले क्यामरुनसँग खेल्नेछ ।

टिप्पणी लेख्नुहोस्