लेख विवरण

सोफेस टेबलटेनिसमा रितिम र आस्मालाई स्वर्ण

सोफेस टेबलटेनिसमा रितिम र आस्मालाई स्वर्ण

काठमाडौं । गार्गी एकेडेमी, बुटवलका रितिम गुरुङ र आदर्श विद्या मन्दिर (एभीएम) की आस्मा पहारीले नवौं सोफेस राष्ट्रिय अन्तरविद्यालय टेबलटेनिस प्रतियोगितामा शुक्रबार स्वर्ण जितेका छन् । सिंगल्सको ब्वाइजमा रितिम तथा गर्ल्समा आस्मा पहिलो भएका हुन् ।

शारीरिक शिक्षा तथा खेलकुद समाज (सोफेस) नेपालद्वारा आयोजित प्रतियोगिताको ब्वाइज सिंगल्स फाइनलमा रितिमले दरबार हाइ स्कुलका शंकर पहारीलाई ११–९, ११–८ र १३–११ को सोझो सेटमा पराजित गरे । मोर्डन इन्डियन स्कुल (एमआईएस) का विशाल थापा तथा एभरेष्टका आर्यन शाही तेश्रो भए ।

डल्लुस्थित स्वर्णिम स्कुलको संयोजन तथा कन्सेप्ट मेकर्जको व्यवस्थापनमा भएको प्रतियोगिताको गर्ल्स सिंगल्सको उपाधि भिडन्तमा आस्माले सेन्ट मेरिजकी सुरम्या शाक्यलाई सीधा सेटमा ११–६, ११–६ र ११–८ ले हराइन् । एभीएमकी अर्सना महर्जन तथा न्यु सुम्निमाकी अंकिता वज्राचार्य संयुक्त रुपमा तेश्रो भए । दुवै सिंगल्समा पहिलो हुनेले १५ हजार, दोश्रोले ७ हजार ५ सय तथा तेश्रोले ३÷३ हजार नगद पुरस्कार पाए ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको ब्वाइज टिम इभेन्ट फाइनलमा गार्गी पहिलो भयो । गार्गीले फाइनलमा भासरा माविलाई ३–१ ले पाखा लगायो । एमआईएस र न्यु होराइजन तेश्रो बने । सो स्पर्धाको गर्ल्स फाइनलमा एभीएमले प्रभातलाई ३–० ले पन्छ्याउदै पहिलो स्थान हात पा¥यो । स्वस्तिश्री गुरुकुल र भासरा तेश्रो भए ।

विजेतालाई अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्दराज वैद्य, प्रथम उपाध्यक्ष धर्ममान वज्राचार्य, सोफेसका अध्यक्ष प्रा.डा. रामकृष्ण महर्जन, स्वर्णिम स्कुलका प्रिन्सिपल सहजी पन्त, कन्सेप्ट मेकर्जका प्रबन्ध निर्देशक प्रशान्त महर्जनलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

दुईदिने प्रतियोगितामा मोफसलका २ सहित विभिन्न ३५ विद्यालयका १ सय ९० ब्वाइज तथा ८० गर्ल्स गरी जम्मा २ सय ७० खेलाडीले विभिन्न ४ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताको १० औं संस्करण बुटवलमा गर्ने आयोजकले जनाएको छ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.