स्कटल्याण्ड क्रिकेटद्धारा 'सेन्ट्रल कन्ट्र्याक्ट'मा राख्ने पुरुष र महिला खेलाडीहरूको सूची सार्वजनिक
काठमाडौंँ । स्कटल्याण्ड क्रिकेटले सन् २०२३–२४ को लागि सेन्ट्रल कन्ट्र्याक्टमा राख्ने पुरुष र महिला खेलाडीहरूको सूची सार्वजनिक गरेको छ। सुचीमा १४ पुरुष र नौ महिला खेलाडीलाई राखिएको छ । नोभेम्बर २०२२ मा घोषणा भएपछि स्कटल्याण्डमा महिला क्रिकेटरहरूलाई सेन्ट्रल कन्ट्र्याक्टमा राखिएको यो पहिलो पटक हो।
सेन्ट्रल कन्ट्र्याक्टको अवधि अप्रिल १, २०२३ देखि मार्च ३१, २०२४ सम्म रहेको छ। कन्ट्र्याक्टका लागि खेलाडी छनोट प्रक्रिया गत फेब्रुअरी र मार्चमा सञ्चालन गरिएको थियो। स्कटल्याण्ड क्रिकेटले सन् २०२१ देखि पुरुष र महिला क्रिकेटरलाई समान म्याच शुल्क दिइ रहेको छ ।
क्रिकेट स्कटल्यान्डका हेड अफ सेन्ट्रल कन्ट्र्याक्ट टोबी बेलीले भने, 'हामी यो वर्षको सेन्ट्रल कन्ट्र्याक्टमा महिला खेलाडीहरुलाई पनि राखेको घोषणा गर्न पाउँदा उत्साहित छौं। यो वास्तवमै ऐतिहासिक क्षण हो । हाम्रा नौ उत्कृष्ट महिला खेलाडीहरू क्रिकेट स्कटल्याण्डसँग पहिलो पटक अनुबन्ध गर्न सहमत भएकोमा म खुसी छु।'
स्कटल्याण्डले जुन १८ देखि जुलाई ९ सम्म भारतमा हुँने एकदिवसीय विश्वकप छनोट खेल्दैछ । प्रतियोगितामा स्कटल्याण्डसँगै नेपाल, वेस्ट इन्डिज, श्रीलंका, आयरल्यान्ड, नेदरल्यान्ड्स, ओमान, अमेरिका र युएईका टोली सहभागी छन् । टोलीले यहाँ राम्रो प्रदर्शन गर्दै एकदिवसीय विश्वकप (ओडीआई विश्वकप २०२३) मा आफ्नो स्थान बनाउने लक्ष्यमा छ।
सेन्ट्रल कन्ट्र्याक्टमा स्थान पाएका २३ खेलाडीहरु :
पुरुष तर्फ : रिची बेरिङ्टन, म्याथ्यू क्रस, एली इभान्स, क्रिस ग्रीभ्स, ज्याक जार्विस, माइकल लीस्क, क्रिस म्याकब्राइड, ब्रान्डन म्याकमुलन, जर्ज मुन्से, लियाम नेलर, सफायान सरिफ, क्रिस सोले, हमजा ताहिर र मार्क वाट।
महिला तर्फ : एबी एटकेन–ड्रमन्ड, प्रियनाज चटर्जी, क्याथरिन फ्रेजर, लोर्ना ज्याक, एल्सा लिस्टर, मेगन म्याकल, ओरला मोन्टगोमेरी, हन्ना रेनी र एलेन वाटसन।

टिप्पणी लेख्नुहोस्