लेख विवरण

स्पेनिस ला लिगा : रियल म्याड्रिड र बार्सिलोना विजयी

स्पेनिस ला लिगा : रियल म्याड्रिड र बार्सिलोना विजयी

एजेन्सी । स्पेनिस ला लिगामा शीर्षटोली रियल म्याड्रिड र बार्सिलोना विजयी भएको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा रियलले ग्रानाडामाथि १–० गोलको कठिन जित निकालेको हो । अर्को खेलमा १० खेलाडीमा सीमित बार्सिलोनाले साविक विजेता एट्लेटिको म्याड्रिडलाई ४–२ गोलले स्तब्ध बनायो ।

रियलको जितमा मार्को असेन्सियोको निर्णायक गोल गरे । मार्कोले ७४औँ मिनेटमा इडर मिलिटाओको पासमा गोल गरेका थिए । ६६ प्रतिशत बल पोसेसन राखेको रियललाई गोल गर्न निकै संघर्ष गर्नुपरेको थियो । रियलको लगातार प्रयासमा ग्रानाडाका गोलरक्षक लुइस म्याक्सिमियानो बाधक बने । जितसँगै रियलले शीर्षस्थानमा ६ अंकको अग्रता लिएको छ । रियको २३ खेलबाट ५३ अंक पुगेको छ । दोस्रो स्थानमा रहेको सेभियाको ४७ अंक छ । पराजित ग्रानाडा २४ अंक सहित १६औँ स्थानमा छ ।

यसैगरी घरेलु मैदानमा बार्सिलोनालाई जिताउन जोडी आल्बा, गाभी, रोनाल्ड अरुजो र डानी आल्भेसले गोल गरे । एट्लेटिकोका यानिक कारास्को र लुईस स्वारेजले गोल गरेका थिए । खेलमा सुरुवाती अग्रता एट्लेटिकोले लिएको थियो । आठौँ मिनेटमा यानिक कारास्कोले गोल गर्दै पाहुना टोलीको उत्साह जगाए । तर एट्लेटिकोको अग्रता दुई मिनेट पनि टिकेन । १०औँ मिनेटमा जोर्डी आल्बाले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।

२१औँ मिनेटमा गाभीले गोल गर्दै बार्सिलोनालाई अगाडि बढाए । ४३औँ मिनेटमा रोनाल्ड अरुजोले गोल गर्दै बार्सिलोनालाई थप बलियो बनाए । ४९औँ मिनेटमा आल्भेसले गोल गरेपछि बार्सिलोना सहज जिततर्फ अग्रसर बनेको थियो । ५८औँ मिनेटमा स्वारेजले गोल गर्दै एट्लेटिकोलाई खेलमा फर्काउने प्रयास गरे । ६९औँ मिनेटमा आल्भेस रातो कार्ड पाउँदै बाहिरिएपछि बार्सिलोना १० खेलाडीमा समेटियो । तर एट्लेटिकोले त्यसको फाइदा उठाउन सकेन ।

जितसँगै बार्सिलोना चौथो स्थानमा उक्लिएको छ । बार्सिलोनाले २२ खेलबाट ३८ अंक बनाएको छ । पराजित एट्लेटिको ३६ अंक सहित पाँचौँ स्थानमा छ । तेस्रो स्थानमा रहेको रियल बेटिसको ४० अंक छ । आइतबार रातिनै घरेलु मैदानमा भएको खेलमा बेटिस भिल्लरियलसँग २–० गोलले पराजित भएको छ । जितसँगै ३५ अंक बनाएको भिल्लारियल छैटौँ स्थानमा उक्लिएको छ ।

अर्को खेलमा भ्यालेन्सिया र रियल सोसिडाडले गोलरहित बराबरी खेल्दै अंक बाँडेको छ । विश्वकै चर्चित लिग मध्यको एक स्पेनिस ला लिगा फुटबल पहिलो पटक नेपालमा डिशहोम एक्सन स्पोर्ट्स एचडी टेलिभिजनले प्रतक्ष प्रशारण गरेको छ ।

स्पेनिस ला लिगा : रियल म्याड्रिड र बार्सिलोना विजयी

टिप्पणी लेख्नुहोस्

Please Login to comment.