हक्की प्रतियोगिता आयोजना गर्न आवश्यक सहयोग उपलब्ध गराउँछौँ : मुख्यमन्त्री कार्की
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विराटनगरमा दक्षिण एसियाली महिला हक्की प्रतियोगिता आयोजना गर्न आवश्यक सहयोग उपलब्ध गराउने बताएका छन ।
नेपाल हक्की सङ्घद्वारा आयोजित गिरिजाप्रसाद कोइराला स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको आज साँझ भएको फाइनल खेलमा विजयी विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई ट्रफी एवं प्रमाणपत्र वितरण गर्दै उनले प्रतियोगिता सञ्चालन गर्नका लागि आगामी वर्षको नीति कार्यक्रम एवं बजेटमा रकमको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरे ।
मुख्यमन्त्री कार्कीले सङ्घले आवश्यक जग्गा उपलब्ध गराएमा सुविधासम्पन्न अन्तर्राष्ट्रियस्तरको हक्की रङ्शाला निर्माण गर्ने जिम्मा सरकारले लिने बताए । उनले यस खेलप्रति युवालाई आकर्षण गर्न सङ्घलाई आग्रह गर्दै यसको प्रशिक्षण, प्रशिक्षक र प्रतियोगिता सञ्चालन गर्न आवश्यक साथ र सहयोग गर्ने धारणा राखे ।
सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीले मुलुकलाई विश्वमा खेल तथा खेलाडीमार्फत पहिचान स्थापित हुने भएकाले मर्यादित एवं अनुशासित भई खेल्न आग्रह गरे । प्रतियोगिताका संयोजक रञ्जन थापा, नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा डीला सङ्ग्रौला, नेपाल हक्की सङ्घ मोरङका अध्यक्ष राजेश गुप्ताले प्रतियोगिता सञ्चालनले यस क्षेत्रमा हक्की खेलप्रति युवा एवं युवतीमा आकर्षण वृद्धि भएको बताए ।
विराटनगरको शहीद रङ्शालामा आज राति भएको फाइनल खेलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लब विजयी भएको छ । उक्त खेलमा त्रिभुवन क्लबले नेपाल प्रहरीलाई १–० ले पराजित गरेको छ । त्रिभुवन क्लबका काशिराज राईले एक गोल गरेका थिए । विजेता त्रिभुवन क्लबले रु ७५ हजार र ट्रफी प्राप्त गरेको छ भने उपविजेता हुने नेपाल प्रहरीले रु ४१ हजार र तेस्रो हुने सुदूरपश्चिम प्रदेशले रु २५ हजारसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।
खेलको ‘म्यान अफ दी म्याच’ त्रिभुवन क्लबका नितेश न्यौपानेले प्राप्त गरेका छन् । त्रिभुवन क्लब गत वर्षको विजेतासमेत रहेको छ । प्रतियोगितामा नेपाली सेनाको त्रिभुवन क्लब, नेपाल प्रहरी, कोशी प्रदेश, मधेस प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको सहभागिता रहेको छ ।

टिप्पणी लेख्नुहोस्