‘ए’ डिभिजन लिग : एपीएफ र संकटा विजयी
काठमाडौं । विभागीय टोलीको नेपाल पुलिस र एपीएफ क्लबबीचको भिडन्तमा एपीएफले बाजी मारेको छ । शहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत सोमबारदेखि सुरु भएको छौटौं चरणको खेलमा एपीएफले पुलिसलाई २–० गोलले हरायो ।
च्यासल मैदानमा भएको पुलिस डर्बीमा एपीएफलाई जिताउन एडमा डोम्बिया र सविन गुरुङले गोल गरे । दुवै गोल दोस्रो हाफमा सम्भव भएको खेलमा डोम्बियाले ५७औं र सविनले इन्जुरी समयमा गोल गरेका थिए ।
जितसँगै एपीएफले ६ खेलबाट १० अंक बनाएको छ । एपीएफ पाँचौं स्थानमा छ । ६ खेलमा पाँचौं हार खेपेको पुलिसको एक अंक छ । पुलिस रेलिगेसनको दबाबमा छ ।
यस्तै एन्फा कम्प्लेक्स मैदानमा भएको अर्को खेलमा संकटाले खुमलटार युवा क्लबलाई १–० गोलले हरायो । संकटाको जितमा जुनियर ओन्गुएनेले २७औं मिनेटमा गोल गरे ।
लिगमा संकटाको यो दोस्रो जित हो । ६ खेलबाट नौ अंक बनाएको संकटा छैटौं स्थानमा छ । चौंथो हार खेपेको खुमलटार ६ अंकसहित नवौं स्थानमा छ ।

टिप्पणी लेख्नुहोस्