‘ए’ डिभिजन लिग : जावलाखेल विजयी हुँदा एनआरटी र चर्च ब्वाइजले अङ्क बाँडे
काठमाडौं । उपाधि दौडमा रहेको सातदोबाटो यूथ क्लबलाई हराउँदै जावलाखेल शहीद स्मारक ‘ए’ डिभिजन लिगको शीर्षस्थानमा उक्लिएको छ ।
एन्फा कम्प्लेक्स मैदान सातदोबाटोमा मंगलबार भएको खेलमा जावलाखेलले सातदोबाटो यूथ क्लबलाई २–१ गोलले हरायो । हारसँगै सातदोबाटो दोस्रो स्थानमा झरेको छ ।
जावलाखेलको जितमा फोडे फोफाना र एनकोटो मोसाबीले गोल गरे । सातदोबाटोका दीपक सिंह ठकुरीले एक गोल फर्काए । फोफानाले ४३औँ मिनेटमा पेनाल्टीमा गोल गर्दै जावलाखेलको उत्साह जगाएका थिए ।
मोसाबीले ५०औँ मिनेटमा गोल गर्दे जावलाखेलको अग्रता दोब्बर बनाए । जावलाखेलको लगातार दुई गोलपछि जोसिएको सातदोबाटोले ७५औँ मिनेटमा गोल फर्काएपछि हार टार्न सकेन ।
दीपकले गोल गर्दै सातदोबाटोलाई खेलमा फर्काउने प्रयास गरेका थिए । जितसँगै शीर्षस्थानमा रहेको जावलाखेलको ६ खेलबाट १३ अङ्क छ । पराजित सातदोबाटो १२ अङ्कसहित दोस्रो स्थानमा छ ।
यसैगरी च्यासल मैदानमा भएको अर्को खेलमा एनआरटी र चर्च ब्वाइज क्लबले २–२ गोलको बराबरी खेल्दै अङ्क बाँडेको छ । चर्च ब्वाइजले सुरुवाती अग्रता लिएपनि जोगाउन सकेन ।
२०औँ मिनेटमा आशिष् चौधरीले गोल गर्दै चर्च ब्याइजलाई अग्रता दिलाए । ६२औँ मिनेटमा कप्तान अनन्त तामाङले गोल गर्दै चर्च ब्वाइजको अग्रता दोब्बर बनाए ।
त्यसपछि एनआरटीका रोशन खड्कीले ७१औँ र सरोज तामाङले इन्जुरी समयमा गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । बराबरीसँगै ६ खेलबाट १२ अङ्क बनाएको चर्च ब्वाइज तेस्रो स्थानमा छ । एनआरटीले समान खेलबाट तीन अङ्क बनाएको छ ।

टिप्पणी लेख्नुहोस्