‘ए’ डिभिजन लिग : फ्रेन्ड्समाथि जावलाखेलको जित
काठमाडौं । जावलाखेल यूथ क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिगमा फ्रेन्ड्स क्लबमाथि फराकिलो जित हात पारेको छ । च्यासल मैदानमा बिहीबार भएको खेलमा जावलाखेलले फ्रेन्ड्स क्लबलाई ४–१ गोलले हरायो ।
जितसँगै जावलाखेल लिगको शीर्षस्थानमा उक्लिएको छ । जावलाखेलको जितमा एनकोटो मासोआबीले दुई गोल गरे । राहुल राहुल र फोडे फोफानाले एक एक गोल थपे । फ्रेन्ड्सका लागि श्यामबाबु क्यापछाकीले सान्त्वना गोल फर्काए ।
जावलाखेलले २०औँ मिनेटमा राहुलको गोलमा खाता खोलेको थियो । २६औँ मिनेटमा एनकोटो मासोआबीले गोल गर्दै जावलाखेलको अग्रता दोब्बर बनाए । ६४अौँ मिनेटमा मासोआबीले पेनाल्टीमा व्यक्तिगत दोस्रो गोल गर्दै जावलाखेलको अग्रता थप बलियो बनाए ।
८०अौँ मिनेटमा श्याम बाबु क्यापछाकीले फ्रेन्ड्सका लागि सान्त्वना गोल फर्काए । त्यसपछि इन्जुरी समयमा फोडे फोफानाले गोल गर्दै जावलाखेललाई सजिलै जिताए ।
जितसँगै शीर्षस्थान कब्जा गरेको जावलाखेलले १७ खेलबाट ३० अंक बनाएको छ । समान खेलबाट १९ अंक बनाएको फ्रेन्ड्स ११अौं स्थानमा छ ।

टिप्पणी लेख्नुहोस्