‘खेलकुदका गतिविधि बढाउनुपर्छ’
भजनी । कैलालीको टीकापुरका गजेन्द्र शाही (गज्जु) फुटबलका लागि निकै लोकप्रिय नाम हो । सानै उमेरदेखि फुटबल खेलमा निपुण हुँदै आएका उनको ऊर्जावान समय खेलकुदमै बित्यो । उनले मेयरकपबाट फुटबल खेल सुरुआत गरेका थिए । तत्कालीन समयमा टीकापुरका लागि मेयर कप निकै महत्वपूर्ण खेलकुद प्रतियोगिताको रुपमा चिनिन्थ्यो ।
उनले खेल्दै जाँदा थुप्रै फुटबल प्रतियोगिताहरु पनि खेल्ने अवसर पाए । शाहीले ए डिभिजन लिगसम्मको फुटबल यात्रा पु¥याएको बताउँदै सुदूरपश्चिमलाई मेडल जिताउन सफल भएको बताए । “२०७१ मा सुदूरपश्चिमबाट राष्ट्रिय लिग खेलेको थिए । मुख्यमन्त्री कपको सुदूरपश्चिमको कप्तनी गर्ने अवसर पनि पाए ।” शाहीले भने, “पाँच वर्षदेखि सुदूरपश्चिमको कप्तानको रुपमा काम गरे । मेरा लागि खेलकुद सुखद् र दुःखद् दुवै रह्यो ।”
खप्तड गोल्डकप २०७६ को उपाधि पनि शाहीले कप्तानी गरेको टिमले हात पार्न सफल भएको थियो । उनी पहिलेका खेलकुदका गतिविधि हेर्ने हो भने अहिले खेलकुद क्षेत्र स्थानीय क्षेत्रबाट हराउँदै गएकोजस्तो देखिएको बताउछन । टीकापुरलाई चिनाउन खेलकुद क्षेत्रको भूमिका महत्वपूर्ण रहेको उनले बताए । शाही खेलबाट भविष्य सुनिश्चित नभएकै कारण होटल व्यवसाय सञ्चालन गर्दै पनि आएका छन ।
कैलालीको जानकी गाउँपालिका खैरिफाटका विष्णु भाट १७ वर्षको उमेरदेखि भलिबल खेल सुरु गरे । सानैमा गाउँमा मोजा भित्र कागजका टुक्रा हालेर भकुण्डो भनाएर खेल्न सुरु गरेका भाटले २०५७ मा पहिलो भलिबल प्रतियोगिता गाविसस्तरीय खेलेका थिए । त्यसभन्दा पछि उनी क्षेत्रीय हुँदै राष्ट्रियस्तरको खेलमा समेत थुप्रै खेल खेले । त्यति मात्र नभई सुदूरपश्चिमबाट राष्ट्रिय कप्तानको अवसरसमेत पाएका भाटले खेल जीवनबाट सन्यास लिसकेका छन । “खेल पनि एक नशाजस्तै हो । जहाँ भविष्य छैन भन्ने थाह पाउँदापाउँदै पनि लागि सकेपछि छोड्न सकिँदैन ।”
विष्णुले भने, पहुँचकै आधारमा खेलाडीले अवसर पाउँछन् । राम्रो सम्भावना भएको खेलाडी अहिले पनि ओझेलमा परेका छन् ।” उनले खेलकुद मैदानकै अभावमा समुदायस्तरमा रहेका थुप्रै खेलाडीले अवसर पाउन नसकेको बताए । उनले स्थानीय सरकारले पनि खेलकुद क्षेत्रको विकासका लागि काम गर्न नसकेको बताए ।
टीकापुरको वीरेन्द्र विद्यामन्दिर माध्यमिक विद्यालयका पुर्व शिक्षक अर्जुन ठकुल्लाको खेलकुद क्षेत्रमा ठूलो योगदान छ । सेपेकताक्रो खेलका अन्तर्राष्ट्रिय रेफ्रीसमेत रहेका ठकुल्लाले थुप्रै खेलाडीलाई उत्प्रेरणा दिएका मात्रै छैनन आफ्नै खर्चमा समेत कैयौँ प्रतियोगितामा सहभागिता जनाउन पुगेका छन । टीकापुरबाट एथलेटिक्समा सिमा चौधरी, सेपेकताक्रोमा गङ्गा चौधरी, मुकुन्द गौतमलाई राष्ट्रियस्तरको खेलमा सहभागी गराई उपाधि जिताउन सफल भएका ठकुल्ला आर्थिक अवस्थाका कारणले कैयौं खेलाडी विस्थापित हुँदै गएको बताउछन ।
“थुपै खेलाडीमा सम्भावना छन् तर आर्थिकले तिनलाई खेल क्षेत्रमा बन्देज बनाइदिएको छ । सरकारले खेलकुदमा लगानी गर्दैन ।” ठकुल्लाले भने, “स्रोतसाधनको अभाव, स्थानीय सरकारको उदासिनताले पनि खेल क्षेत्र अगाडि बढ्न सकेको छैन भने कैयौँ प्रतिभा भविष्य सुनिश्चित नदेखेकै कारण पनि आउन सकेका छैनन् ।”
उसो त टीकापुर क्षेत्रमा खेलकुदको निकै सम्भावना छ । टीकापुरमा २२ बिघा जग्गा खेलकुदको नाममा छ् । टीकापुर खेलकुद विकास समितिको नाममा रहेको उक्त जग्गा यतिबेला गौचरनमा परिणत छ । करोडौँ बजेट खर्च हुँदा पनि खेलकुद मैदानलाई सञ्चालनमा ल्याउन सकिएको छैन । बर्सेनि बजेट आउने तर टुक्रे बजेटले कुनै काम पूरा नहुँदा टीकापुरमा खेलकुद मैदानको अभावमा खेलकुदका गतिविधि अगाडि बढ्न सकेका छैनन् ।
स्रोत हुँदाहुँदै पनि त्यसको योजनाबद्ध रुपमा काम हुन नसक्दा कैयौँ खेल क्षेत्रमा आफ्नो भविष्य देखेका विस्थापितको अवस्थामा पुगेका छन् । टीकापुर नगर खेलकुद विकास समितिको नाममा रहेको जग्गा उपयोगका लागि स्थानीय सरकारले पनि कुनै ठोस योजना ल्याउन सकेको छैन । नगर खेलकुद विकास समिति पनि निकै निष्क्रिय छ ।
खेलकुद मैदानकै अभावमा खेलाडी खेलकुदका गतिविधिबाट वञ्चित हुनुपर्ने अवस्था रहेको भलिबल खेलाडी लोकेन्द्र साउँद बताउछन । “टीकापुरमा खाली जग्गा जति पनि छ । त्यसलाई थोरै लगानी गरेर खेलकुद मैदानको रुपमा विकास गर्न सकिने भए पनि त्यो हुन सकेको छैन ।” साउँद भन्छन, “बिना तयारी कुनै प्रतियोगितामा जाँदा परिणाम आफू अनुकूल आउँदैन ।”
गत वर्ष टीकापुर नगरपालिकाले कभर्डहलमा निर्माणका लागि तत्कालीन नगर प्रमुख तपेन्द्रबहादुर रावलले शिलान्यास गरेका थिए । नगर विकास समितिको रु दुई करोड बजेटबाट कभर्डहल निर्माणको कार्य प्रारम्भ गर्ने भनिए पनि बजेट व्यवस्थापन नहुँदै शिलान्यास भएको कभर्डहल निर्माण नै हुन सकेको छैन । चालु आर्थिक वर्षमा पनि कभर्डहल निर्माणका लागि बजेटको व्यवस्थापन नभएको नगरपालिकाका लेखा प्रमुख लक्ष्मण ओड बताउछन ।
नगरपालिकाले चालु आवमा करिब रु ३० लाख बजेट खेलकुदका लागि छुट्याएको छ । सोमध्ये रु १५ लाख नगरस्तरीय मेयर तथा उपमेयर कपका लागि छ भने बाँकी अन्य स्थानीय तहमा हुने प्रतियोगिताको लागि भनिएको छ । नगर प्रमुख रामलाल डङ्गौरा थारुले खेलकुद क्षेत्रको विकासका लागि निकै गम्भीर रहेको बताए । “खेलकुद प्रतियोगिताका लागि नगरपालिकाले पर्याप्त बजेटको व्यवस्था गरेको छ । संरचना निर्माणको लागि सङ्घ र प्रदेश सरकारसँग समन्वय भइरहेको छ ।” नगर प्रमुख थारुले भने, “खेलकुदको विषयमा हामी गम्भीर छौँ । म आफैँ पनि खेलाडी भएकाले खेलाडीलाई अब निराश हुने अवस्था रहन दिने छैन ।”

टिप्पणी लेख्नुहोस्