‘प्रथम मेयर रनिङ शिल्ड’ प्रतियोगिता सम्पन्न
काठमाडौँ काठमाडौँको तारकेश्वर नगरपालिकाद्वारा सञ्चालित ‘प्रथम मेयर रनिङ शिल्ड’ प्रतियोगिता सम्पन्न भएको छ । ‘खेल तारकेश्वरको, सन्देश एकताको’ भन्ने मूल नाराका साथ माघ १२ गते सुरु भएको उक्त प्रतियोगिता आज सम्पन्न भएको हो ।
समापन कार्यक्रममा नगरप्रमुख महर्जनले नगरपालिकाभित्र लुकेर रहेका खेलाडीको प्रतिभालाई बाहिर ल्याउनका लागि उक्त प्रतियोगिता आयोजना गरिएको बताए । उनले हरेक विद्यालयका विद्यार्थीलाई एकापसमा जोड्नका लागि खेलकुद प्रतियोगिताले सहयोग पुगेकोे बताए ।
उक्त प्रतियोगितामा तारकेश्वर नगरपालिकाभित्रका ३४ सामुदायिक तथा संस्थागत विद्यालयका एक हजार नौ सय विद्यार्थीको सहभागिता रहेको थियो । फुटबल, भलिबल, कबड्डी, एथ्लेटिक्स र मार्सलआर्ट गरी पाँच विधामा भएको उक्त प्रतियोगितामा हिमरश्मी हाइस्कुल प्रथम भएको छ । हिमरश्मी स्कुलले १२ स्वर्ण, पाँच रजत र नौ काश्य पदक जितेको छ ।
प्रथम भएसँगै हिमरश्मी स्कुलले रु एक लाख नगदसहित शिल्ड र प्रमाणपत्र हात पारेको छ । यस्तै दोस्रो लालीगुँरास नेशनल एकेडेमी भएको छ । सो एकेडेमीले आठ स्वर्ण, चार रजत र छ कास्यपदक जितेको छ । दोस्रो भएको सो एकेडेमीले रु ६० हजार नगद, शिल्ड र प्रमाणपत्र प्राप्त गरेको छ ।
तेस्रो किन्डर गार्डेन स्कुल भएको छ । सो स्कुलले पाँच स्वर्ण, दुई रजत र दुई काश्य हात पारेको छ । सो स्कुलले रु ४० हजार नगद, शिल्ड र प्रमाणपत्र प्राप्त गरेको छ । यसैगरी सान्त्वना एन्जल हार्ट माविले पाएको छ । सो माविले चार स्वर्ण, पाँच रजत र तीन काश्य हात पारेको छ । सान्तना पुरस्कारस्वरुप सो माविले रु २० हजार नगद, शिल्ड र प्रमाणपत्र प्राप्त गरेको हो ।
‘प्रथम मेयर रनिङ शिल्ड’ प्रतियोगिता सञ्चालनका लागि सो नगरपालिकाले रु ३५ लाख बजेट विनियोजन गरेको थियो । उक्त प्रतियोगितामा १८ वर्ष कम उमेर समूहका विद्यार्थीको सहभागिता रहेको थियो ।

टिप्पणी लेख्नुहोस्