‘स्कूल टु ओलम्पिक’ यात्रा सुनाउँदै खेलाडी
महेन्द्रनगर । ओलम्पियन तथा तेक्वान्दोका कीर्तिमानी खेलाडी दीपक विष्टले आज कञ्चनपुरको महेन्द्रनगरस्थित लिटिलबुद्ध एकेडेमीका विद्यार्थीलाई आफ्नो खेलजीवनको विगत सुनाएका छन ।
कञ्चनपुरको कृष्णपुर नगरपालिकाको रैकवार बिचुवामा जन्मिएर गाउँमा स्कूल पढ्दा आफू भलिबल खेल्ने गरेको र पछि अध्ययनसँगै खेलकुदलाई निरन्तरता दिँदै जाँदा ओलम्पिकसम्मको खेल यात्रा पु¥याएको अनुभव बताए ।
“कक्षा–८ मा पढ्दा खेल्ने भलिबल नभएर मोजाको बल बनाएर खेल्थे ।” विष्टले विद्यार्थी जीवन सम्झँदै भने, “सुदूरपश्चिम कीर्तिमानी खेलाडी जन्माएको भूमि हो ।” उनले ओलम्पिक पुग्ने खेलाडी स्कूलस्तरबाटै आउने गरेको बताए । “आइएसी पढ्न महेन्द्रनगर आउँदादेखिको यहाँको अपार मायाले सम्झना आइरहन्छ ।” विष्टले भने, “खेल प्रतिस्पर्धाका लागि मात्रै नभएर स्वस्थ्य हुन पनि आवश्यक छ ।”
स्वस्थ्य मानिस जुनसुकै क्षेत्रमा पनि सफल हुने भएकाले उनले २४ घण्टामा १ घण्टा भए पनि खेलकुदलाई दिनुपर्नेमा जोड दिए । दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागमा कीर्तिमानी चार स्वर्ण जितेका विष्टले सन् २०१० मा बङ्गलादेशमा भएको ११ औँ सागपछि रिङमा उत्रिएका छैनन् । विद्यार्थीलाई अनुभव सुनाउने क्रममा विष्टले आफूले एसियन्स गेम्समा दुई काश्य जितेको जानकारी दिए ।
त्यसैगरी १९८८ सिओल ओलम्पिकमा बक्सिङ खेलमा सुदूरपश्चिमबाट दुई जना खेलाडी विष्णुबहादुर सिंह र डम्बरदत्त भट्टले भाग लिएका थिए । तीन दशकअघिको उक्त ओलम्पिकमा मुलुककै प्रतिनिधित्व गर्दै ओलम्पिकको यात्रामा निस्कनु बक्सर सिंह र भट्टलाई निकै चुनौतीपुर्ण थियो ।
सिओल ओलम्पिकसँगै २१र२१ वटा अन्तर्राष्ट्रियस्तरमा सहभागी यी दुई बक्सरले आफ्नो समयमा आफ्नो तौल समूहमा राष्ट्रियस्तरमा चर्चित पदकधारी खेलाडी पनि हुन् । ओलम्पियन डम्बरदत्त भट्टले विसं २०३९ मा कक्षा–७ पढ्दा नै बक्सिङ्ग खेल्ने सुरु गरे ।
“खेलकुदमा समय व्यवस्ताकै कारण कक्षा–१० मै तीन पटक अध्ययन गरेँ ।”, भट्टले भने–“पढाईसँगै खेलकुदलाई अघि बढाउँदा आज यो अवस्थामा आइपुग्यो ।” हाल जिल्ला खेलकुद विकास समिति कञ्चनपुरमा बक्सिङ प्रशिक्षकका रुपमा कार्यरत भट्टले स्कूलस्तरमा खेलकुद गतिविधि बढाए मात्रै खेलकुदमा प्रतिभावान खेलाडी उत्पादन गर्न सहज हुनेमा जोड दिए ।
“ओलम्पियन नै स्कूलस्तरबाटै आउने खेलाडी हुन् ।” उनले भने, “काँचो अवस्थामै खेलाडी उत्पादन गर्नेतर्फ पहल हुनुपर्छ ।” उनले ओलम्पिक, १३औँ १४ एशियसन च्याम्पियनसिपदेखि युरोपियन च्याम्प्सिनलेसम्म खेलेको जानकारी दिए ।
अर्का बक्सिङ ओलम्पियन विष्णुबहादुर सिंहले पनि विसं २०४० मा कक्षा–८ पढ्दादेखि बक्सिङ खेलमा लागेको बताए । “पढाइसँगै खेलमा लागेर ओलम्पिकसम्म पुगे ।”, उनले भने, “लगतशील भएर खेलसँगै पढाइलाई पनि निरन्तरता दिने माहोल अहिलेको पुस्तालाई छ ।”
सुदूरपश्चिमका तीन ओलम्पियनसँगै मङ्गलबार यहाँ आयोजित स्कूल टू ओलम्पिक अभियानका क्रममा ओलम्पियन तथा कीर्तिमानी धावक बैकुण्ड मानन्धर लगायत सात जना ओलम्पियनले आफ्नो खेल जीवनका अनुभव सुनाए । उनीसँगै राष्ट्रिय खेलकुद परिषद्को आयोजना तथा नेपाल ओलम्पियन्स सङ्घको संयोजनमा भएको कार्यक्रमा महिला ओलम्पियन देवी थापा, प्रमिला रिजाल र दीपक श्रेष्ठले आफ्ना अनुभव सुनाएका थिए । सुदूरपश्चिमदेखि सुरु भएको स्कूल टू ओलम्पियन कार्यक्रम सात वटै प्रदेशमा सञ्चालन हुनेछ ।

टिप्पणी लेख्नुहोस्