लेख विवरण

सात वर्षपछि पाकिस्तानी क्रिकेट टोली भारतमा खेल्ने

सात वर्षपछि पाकिस्तानी क्रिकेट टोली भारतमा खेल्ने

मुम्बई । सात वर्षपछि पाकिस्तानी क्रिकेट टोली भारतीय भूमिमा खेल्ने भएको छ । भारतले सात वर्षपछि पहिलो पटक ५० ओभरको विश्वकप खेलका लागि पाकिस्तानको क्रिकेट टोलीलाई स्वागत गर्ने भएको छ ।

अन्तरराष्ट्रिय क्रिकेट काउन्सिलले मङ्गलबार यसबारे सूचना सार्वजनिक गरेको छ

बहुप्रतीक्षित भारत–पाकिस्तान बीच प्रतिस्पर्धा आइतबार अक्टोबर १५ मा अहमदाबादमा हुनेछ ।

पाकिस्तानले ६ र १२ अक्टोबरमा हैदराबादमा खेल्नेछ। त्यसपछि १५ अक्टोबरमा अहमदाबादमा भारतसँग खेल्नेछ। त्यसपछि टोली बेंगलुरु जानेछ, जहाँ उनीहरूले अक्टोबर २० मा अष्ट्रेलियासँग खेल्नेछन् । पाकिस्तानले अक्टोबर २३ मा चेन्नईमा अफगानिस्तानविरुद्ध खेल्नेछ। टोलीले अर्को खेल दक्षिण अफ्रिकाविरुद्ध चेन्नईमै खेल्नेछ ।

पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले हालै अस्ट्रेलिया र अफगानिस्तानविरुद्धको खेल स्थल परिवर्तन गर्न अनुरोध गरेको थियो । उनीहरूले चेन्नईमा अष्ट्रेलिया र बेंगलुरुमा अफगानिस्तानसँग खेल्न खोजेका थिए । तर, उनीहरुको यो माग स्वीकार गरिएन ।

पाकिस्तानले अक्टोबर ३१ मा बंगलादेशसँग कोलकातामा खेल्नेछ। त्यसपछि चार नोभेम्बरमा फेरि बेंगलुरु जानेछ, जहाँ उनीहरूले न्युजिल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । त्यसपछि पाकिस्तानको टोली कोलकाता फर्कनेछ, जहाँ १२ नोभेम्बरमा इंग्ल्यान्डविरुद्धको खेल हुनेछ ।

आईसीसी र बीसीसीआईले मंगलबार मुम्बईमा आयोजित एक कार्यक्रममा बहुप्रतीक्षित विश्वकपको तालिका सार्वजनिक गरेका छन् । प्रतियोगिता सुरु हुन १०० दिन मात्र बाँकी छ । सन् २०१५ र २०१९ को विश्वकप तालिका १२ महिना अघि सार्वजनिक गरिएको थियो ।

विश्वकपको ४५ लिग खेलहरू भारतका १० शहरहरू धर्मशाला, दिल्ली, लखनऊ, कोलकाता, अहमदाबाद, मुम्बई, पुणे, हैदराबाद, बेंगलुरु र चेन्नईमा खेलाइनेछ । सन् २०१९ को विश्वकप जस्तै सबै १० राष्ट्रले लिग चरणमा एक अर्काको सामना गर्नेछन् । भने शीर्ष चार टोली सेमिफाइनल पुग्नेछन्।

विश्वकपका लागि तालिका तयार भए पनि पाकिस्तानले भारत आउने वा नआउने भन्ने औपचारिक घोषणा गरेको छैन । सन् २०१६ को टी–२० विश्वकपपछि पाकिस्तानले भारत भ्रमण गरेको छैन । हालै पाकिस्तानको विदेश मन्त्रालयले पाकिस्तानले भारत भ्रमण गर्ने बिषयमा विचार गरिरहेको बताएको छ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.