क्रिकेट विश्वकप ट्रफी अन्तरिक्षमा सार्वजनिक
काठमाडौंँ । भारतले आयोजना गर्न लागेको एकदिवसीय विश्वकप क्रिकेटको ट्रफी सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सोमबार ट्रफी अन्तरिक्षमा लन्च गरेको हो । यससँगै ट्रफीको विश्व भ्रमण पनि घोषणा गरिएको छ । जुन २७ बाट सुरु हुने विश्व भ्रमण अन्तर्गत यो ट्रफी १८ देशको भ्रमण गरी भारत फर्किनेछ । भ्रमण सेप्टेम्बर ४ मा समाप्त हुनेछ।
आईसीसीले अमेरिकाको निजी अन्तरिक्ष एजेन्सी ‘सेन्ट इनटो स्पेस’को सहयोगमा बेलुन मार्फत ट्रफीलाई अन्तरिक्षमा पठाएको हो । पृथ्वीको सतहबाट १२ हजार फिटको उचाइमा पुगेपछि ट्रफीलाई स्ट्र्याटोस्फियरमा अनावरण गरिएको थियो । स्ट्र्याटोस्फियर पृथ्वीको वायुमण्डलको दोस्रो तह हो, स्ट्र्याटोस्फियर माथि र मेसोस्फियर तल अवस्थित छ।
विश्वकप ट्रफी कुवेत, बहराइन, मलेसिया, अमेरिका, नाइजेरिया, युगान्डा, फ्रान्स, इटाली, अमेरिका र आयोजक राष्ट्र भारतलगायत विश्वका १८ देशका ४०ं सहरमा पुग्नेछ ।
आईसीसीका प्रमुख कार्यकारी जेफ एलार्डिसले भने, ‘आईसीसी पुरुष क्रिकेट विश्वकप ट्रफी भ्रमण महत्वपूर्ण हुनेछ । विश्वकप सुरु हुन १०० दिन बाँकी रहँदा यो हाम्रा लागि ठूलो उपलब्धि हुनेछ । यो भ्रमणबाट हामी अन्य देशमा पनि क्रिकेटको प्रवद्र्धन गर्न सक्षम हुनेछौं । भ्रमणले हामीलाई देशका जनतासँग भेट्ने र कुरा गर्ने मौका दिनेछ। यससँगै हामी सामुदायिक क्रिकेट विकास कार्यक्रम पनि सुरु गर्न सक्नेछौं।'
यस वर्षको अक्टोबर–नोभेम्बरमा आयोजना हुने ओडीआई विश्वकपको तालिका मंगलबार घोषणा हुने सम्भावना रहेको छ। आईसीसीले आज मुम्बईमा एक कार्यक्रम आयोजना गरेको छ । रिपोर्टका अनुसार यही कार्यक्रममा विश्वकपको खेल तालिका सार्वजनिक हुनेछ । प्रतियोगिता सुरुहुन एक सय दिन मात्रै बाँकी रहेकोले विश्वकपको खेल तालिका सार्वजनिक गर्न यो दिन नै उपयुक्त हुने देखिन्छ । बीसीसीआईले एकदिवसीय विश्वकपको तालिकाको मस्यौदा यसअघि नै अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) लाई बुझाई सकेको छ ।
भारतले पहिलो पटक विश्वकपको आयोजना गर्दैछ । यसअघि भारतले छिमेकी मुलुकसँग मिलेर यो प्रतियोगिता आयोजना गरिसकेको छ । ४६ दिनसम्म चल्ने प्रतियोगितामा तीन नकआउटसहित ४८ खेल हुनेछन् । यस पटकको विश्वकपमा १० टोलीको सहभागिता रहनेछ ।

टिप्पणी लेख्नुहोस्