जिम्बाब्वेलाई हराउदै श्रीलंका विश्वकपका लागि छनोट
बुलावायो । सन् १९९६ को विश्व च्याम्पियन श्रीलंका भारतमा हुने एकदिवसीय विश्वकपका लागि छनोट भएको छ । टोलीले जिम्बाब्वेमा जारी एकदिवसीय विश्वकप छनोट खेलमा जिम्बावेलाई ९ विकेटले पराजित गरेको हो । जितपछि श्रीलंका सुपर सिक्स अंक तालिकाको शीर्ष स्थानमा छ । टोलीको ८ अंक रहेको छ ।
बुलावायोस्थित क्वीन्स स्पोर्ट्स क्लबमा सोमबार भएको खेलमा श्रीलंकाले टस जितेर फिल्डिङ रोजेको हो । आयोजक जिम्बाब्वेले पहिले ब्याटिङ गर्दै १६५ रन बनाएको थियो । १६६ रनको लक्ष्य श्रीलंकाले ३३.१ ओभरमा एक विकेटको क्षतिमा १६९ रन बनाएर पुरा गरेको थियो ।
विश्वकप छनोट सुपर सिक्स राउण्डमा श्रीलंकाको यो लगातार चौथो जित हो। जितपछि श्रीलंका ८ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । यस्तो अवस्थामा अर्को खेल हार्दा पनि श्रीलंकाको शीर्ष २ मा रहने निश्चित भएको छ । अब जिम्बाब्वे र स्कटल्याण्डबीच विश्वकपमा छनोट हुन कडा प्रतिस्पर्धा हुने देखिएको छ ।
अहिले जिम्बावे तालिकाको दोस्रो स्थानमा छ । टोलीको ४ खेलबाट ६ अंक छ भने स्कटल्याण्ड ३ खेलबाट ४ अंकसहित तेस्रो स्थानमा छ । स्कटल्याण्डले थप २ खेल खेल्नु बाँकी रहेको छ । वेस्ट इन्डिज र ओमान विश्वकपको दौडबाट बाहिरिसकेको छ ।

टिप्पणी लेख्नुहोस्