दोस्रो टेस्टमा अष्ट्रेलियाले इंग्ल्याण्डलाई हरायो
काठमाडौंँ । लर्ड्समा भएको दोस्रो टेस्टमा अष्ट्रेलियाले इंग्ल्याण्डलाई ४३ रनले पराजित गरेको छ । योसँगै अष्ट्रेलियाले २०२३ को एसेज सिरिजमा २–० को अग्रता लिएको छ । अष्ट्रेलियाले दिएको ३७१ रनको लक्ष्य पछ्याउने क्रममा इङ्ल्यान्डका कप्तान बेन स्टोक्सले १५५ रनको इनिङ खेले पनि आफ्नो टोलीलाई जिताउन सकेनन् ।
दोस्रो टेस्टको पहिलो इनिङ्समा अस्ट्रेलियाले ४१६ रन बनाएको थियो । त्यसपछि इंग्ल्याण्डको टोली पहिलो इनिङ्समा मात्र ३२५ रनमा समेटिएको थियो । तर, दोस्रो इनिङ्समा इंग्ल्याण्डले खेलमा पुनरागमन गर्दै अष्ट्रेलियालाई २७९ रनमा सीमित गर्यो । यसरी इंग्ल्याण्डलाई दोस्रो इनिङ्समा ३७१ रनको लक्ष्य पाएको थियो । तर, पाहुना टोली ३२७ रन बनाएर अलआउट भयो ।
इंग्ल्याण्डका लागि बेन डकेटले ८३ र बेन स्टोक्सले १५५ रन बनाए । तर अन्य ब्याट्सम्यानको साथ नपाएका कारण उनले आफ्नो टोलीलाई जित दिलाउन सकेनन् ।
ज्याक क्राउली ०३, ओली पोप ०३, जो रुट १८ र ह्यारी ब्रुक ०४ रनमा आउट भए । यसरी ४५ रनमा इंग्ल्याण्डका चार महत्वपूर्ण विकेट खसेको थियो । त्यसपछि बेन डकेट र बेन स्टोक्सले १३२ रनको साझेदारी गरे । तर, डकेट ११२ बलमा ९ चौकाको मद्दतले ८३ रन बनाएर आउट भए ।
त्यसपछि जोनी बेयरस्टो १० रन बनाएर विवादास्पद रनआउट भए । बेयरस्टो आउट भएपछि स्टोक्सले आक्रामक पारी खेल्दै स्टुअर्ट ब्रोडसँग १०९ रनको साझेदारी गरे। स्टोक्सले २१४ बलमा ९ चौका र ९ छक्का प्रहार गर्दै १५५ रन बनाए । सोही क्रममा ब्रोड ११ रन बनाएर आउट भए । त्यसपछि ओली रबिन्सन १ रनमा आउट भए ।
३०२ रनमा ९ विकेट खसेपछि जोस टोङ र जेम्स एन्डरसनबीच २५ रनको साझेदारी भयो । जोस टोङले १९ रन बनाए । जबकि एन्डरसन ३ रनमा अविजित रहे । बलिङमा अष्ट्रेलियाका लागि मिचेल स्टार्क, प्याट कमिन्स र जोस हेजलउडले ३–३ विकेट लिए ।यसबाहेक क्यामरुन ग्रीनले एक विकेट लिए ।
यसअघि अस्ट्रेलियाका लागि पहिलो इनिङ्समा स्टिभ स्मिथले ११०, ट्राभिस हेडले ७७ र डेभिड वार्नरले ६६ रन बनाएका थिए ।त्यस्तै, इंग्ल्याण्डका लागि पहिलो इनिङ्समा बेन डकेटले ९८ र ह्यारी ब्रुकले ५० रन बनाएका थिए । दोस्रो इनिङ्समा अस्ट्रेलियाका लागि उस्मान ख्वाजाले सर्वाधिक ७७ रन बनाए ।

टिप्पणी लेख्नुहोस्