लेख विवरण

जिम्बाब्बे एकदिवसीय विश्वकपबाट बाहिरियो

जिम्बाब्बे एकदिवसीय विश्वकपबाट बाहिरियो

काठमाडौं । टेस्ट मान्यता प्राप्त देश जिम्बाब्बे एकदिवसीय विश्वकपबाट बाहिरिएको छ । विश्वकप छनोट अन्तर्गत सुपर सिक्स लिगको आफ्नो अन्तिम खेलमा स्कटल्यान्डसँग पराजित भएपछि जिम्बाब्वेको २०२३ मा हुने विश्वकप खेल्ने सपना चकनाचुर भएको छ ।

जिम्बाब्वेले जितका लागि २३५ रनको लक्ष्य पाएको अवस्थामा सिन विलियम्सको टोली ४१.१ ओभरमा २०३ रनमा मात्रै सिमित भयो । रस्कटल्याण्डले जिम्बावेलाई ३१ रनले पराजित गर्यो । जिम्बावेका लागि रायन बर्लले उत्कृष्ट इनिङ खेलेता पनि आफ्नो टोलीलाई जिताउन सकेनन् । रायनले ८४ बलमा ८३ रनको इनिङ खेले । उनले आफ्नो पारीमा ८ चौका र १ छक्का प्रहार गरे । यसबाहेक सिकन्दर रजाले ४० बलमा ३४ रन बनाए । उनले आफ्नो पारीमा २ चौका र १ छक्का प्रहार गरे । तर आयोजक टोलीका बाँकी ब्याट्सम्यानले निराश बनाए ।

जिम्बाब्वेका ६ ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । अर्कोतर्फ बलिङमा स्कटल्याण्डका बलर क्रिस सोले सर्वाधिक सफल भए । उनले ३ विकेट लिए । यस बाहेक ब्रान्डन म्याकमुलन र माइकल लिस्कले २-२ विकेट लिए । सफयान सरिफ, मार्क वेट र क्रिस ग्रेभ्सले १–१ विकेट लिए ।

यसअघि जिम्बाब्वेका कप्तान सन विलियम्सले टस जितेर बलिङ गर्ने निर्णय गरेका थिए । टस हारेर पहिले ब्याटिङ गर्न आएको स्कटल्याण्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २३४ रन बनाएको थियो । स्कटल्याण्डका लागि माइकल लिस्कले सर्वाधिक ४८ रन बनाए । यसबाहेक म्याथ्यु क्रस र ब्रेन्डन म्याकुलमले क्रमशः ३८ र ४३ रनको योगदान दिए । जिम्बाब्वेका लागि कप्तान सन विलियम्सले सर्वाधिक ३ विकेट लिए । टेन्डल चताराले २ विकेट लिए । रिचर्ड नगारवाले १ सफलता हात पारे ।

विश्वकप छनोटबाट टेस्ट मान्यता प्राप्त टोली वेस्टइन्डीज र आयरल्यान्ड पनि बाहिरिसकेको छ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.