आफ्नो १०० औं टेस्ट खेलमा इतिहास रच्दै स्मिथ
काठमाडौंँ । विश्व क्रिकेटमा टेस्ट फर्म्याटका उत्कृष्ट ब्याट्सम्यानमध्येका एक स्टिभ स्मिथले हेडिंग्ले टेस्ट म्याचमा आफ्नो करियरको अर्को ठूलो माइलस्टोन हासिल गर्ने भएका छन् । लेग स्पिनरका रुपमा करियर सुरु गरेका स्मिथ विश्वका उत्कृष्ट ब्याट्सम्यानमा गनिन्छन् । उनी अस्ट्रेलियाका लागि १०० औं टेस्ट म्याच खेल्ने १५ औं र विश्वका ७५ औं खेलाडी बन्ने भएका छन् । स्मिथको टेस्ट रेकर्ड अस्ट्रेलियाका पूर्व खेलाडी डन ब्रेडम्यानपछिको सबैभन्दा राम्रो रेकर्ड हो ।
आफ्नो १४ वर्षे क्रिकेट करियरमा स्टिभ स्मिथले अहिलेसम्म धेरै उपलब्धि हासिल गरेका छन् । उनी टेस्ट क्रिकेटमा १०० औं म्याचअघि ९ हजार रन पूरा गर्ने एक मात्र खेलाडी हुन् । ९९ औं टेस्ट म्याचपछि स्मिथको औसत ५९.५६ रहेको छ, जुन यति धेरै टेस्ट म्याच खेलेका अन्य खेलाडीको तुलनामा निकै बढी हो ।
टेस्ट क्रिकेटमा पाँच हजारभन्दा बढी रन बनाएका १०६ ब्याट्सम्यानमध्ये स्मिथ औसतका आधारमा दोस्रो नम्बरमा छन् । आफ्नो पहिलो पाँच टेस्ट म्याचमा बलरको रुपमा खेलेका स्मिथलाई टेस्ट करियरबाट हटाइयो भने उनको औसत ६१.४९ पुग्नेछ ।
टेस्ट क्रिकेटमा कुनै पनि ब्याट्सम्यानको वास्तविक परीक्षा विदेश भ्रमणमा हुन्छ । ५० भन्दा बढी इनिङमा ब्याटिङ गरेका स्मिथ यो मामिलामा पहिलो स्थानमा छन् । स्मिथ ती १२ खेलाडीमध्ये एक हुन्, जसले घरेलु र विदेशी भूमिमा ५० भन्दा बढीको औसतमा रन बनाएका छन् । स्मिथको करियर औसत ५९.५६ रहेको छ, घरेलु औसत ६४.५१ छ भने विदेशी भूमिमा उनको औसत ५५.६९ रहेको छ।
टेस्ट क्रिकेटमा पहिलो इनिङमा ब्याटिङ गर्ने मामिलामा स्मिथ डन ब्राडम्यानपछि दोस्रो स्थानमा छन् । स्मिथको पहिलो इनिङमा औसत स्कोर ८७.२५ रहेको छ । कम्तीमा २० इनिङ्समा ब्याटिङ गरेका खेलाडीमध्ये ब्रेडम्यानले पहिलो २२ इनिङमा ११३.६७ को औसत बनाएका थिए ।
जुलाई ६ मा स्मिथले हेडिंग्ले मैदानमा खेल्दा यो उनको करियरको १०० औं टेस्ट म्याच हुनेछ । उनी अष्ट्रेलियाका लागि यो स्थानमा पुग्ने १५ औं खेलाडी हुन् ।

टिप्पणी लेख्नुहोस्