मदन भण्डारी स्मृति ब्याडमिन्टन : पूर्वमुख्यमन्त्री राई र थापाको जोडी च्याम्पियन
काठमाडौं । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र राई र लिलबहादुर थापाको जोडी बुधवार सम्पन्न मदन भण्डारी स्मृति ब्याडमिन्टन प्रतियोगिताको पुरुष युगलमा च्याम्पियन भएका छन् ।
एमाले नेता मदन भण्डारीको ७२औं जन्मजयन्तीको अवसरमा नेपाल खेलकुद महासङ्घले आयोजना गरेको प्रतियोगितामा नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राई र एमालेका नेता लिलबहादुरको जोडी च्याम्पियन भएका हुन ।
ललितपुरको महालक्ष्मीस्थानस्थित रिभाइज लेजर पार्कमा सम्पन्न फाइनलमा राई र थापाको जोडीले एमालेका नेता यज्ञराज सुनुवार र नेपाली काँग्रेसका नेता दिलमान पाख्रिनको जोडीलाई २१–१७, २१–१९ ले हरायो ।
उक्त प्रतियोगितामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापा र गणेश थापाको जोडी तथा एमालेका नेताद्वय भानुभक्त ढकाल र नवराज सिलवालको जोडी संयुक्त रूपमा तेस्रो भए ।
बुधवार नै भएको सेमिफाइनलमा थापा दाजु भाइको जोडी राई र थापाको जोडीसँग २१–१६, २१–१७ ले पराजित भए । अर्को सेमिफाइनलमा यज्ञराज र दिलमानको जोडीले नवराज सिलवाल र भानुभक्त ढकालको जोडीलाई २१–६, २१–७ ले हरायो ।
प्रतियोगिताको विजेतालाई राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना र नेपाल खेलकुद महासङ्घका अध्यक्ष पर्शुराम बस्नेतले पुरस्कार प्रदान गरे । महासङ्घले संविधान सभा सदस्य, राष्ट्रिय सभा, प्रतिनिधिसभा र प्रदेश सभाका वर्तमान तथा पूर्वसदस्यबीच प्रतियोगितामा प्रतिस्पर्धा गराएको हो ।

टिप्पणी लेख्नुहोस्