उमा क्षेत्री भारतको सिनियर महिला क्रिकेट टोलीमा
काठमाडौंँ । आसामको गोलाघाट जिल्लाको एउटा सानो गाउँ कान्दुलीमारी आइतबारपछि अचानक चर्चामा आएको छ ।
बोकाखात शहरबाट करिब छ किलोमिटरको दुरीमा रहेको यो गाउँमा सोमबार बिहानैदेखि अचानक मानिसको आवतजावत सुरु भएको छ ।
यहाँ आउने मानिसहरूमा असम सरकारका वरिष्ठ मन्त्री अतुल बोरा देखी धेरै भिआईपीहरू पनि रहेका छन्। यसअघि गाउँलेहरूले यहाँ यस्तो भीड र भिआइपी आउने गरेको देखेका थिएनन् ।
मिरपुरको शेर-ए-बंगला राष्ट्रिय क्रिकेट स्टेडियममा बंगलादेश विरुद्धको आगामी तीन खेलको टी-२० र एकदिवसीय शृंखलाका लागि आइतबार बीसीसीआईले घोषणा गरेको भारतीय टोलीमा यही गाउँकी उमा क्षेत्री पनि रहेकी छन्।
उमा भारतको सिनियर महिला टोलीमा स्थान बनाउने आसामकी पहिलो महिला क्रिकेटर बनेकी छिन् ।
उमाको संघर्षले भरिएको यात्राको कथा उनको गाउँसम्म जाने कच्ची सडकले बताउछ ।
बाढीको समयमा यो सडक पुरै पानीमा डुबेर यहाँ कोही पनि हिँडडुल गर्न सक्दैनन् ।
यी असुविधाको सामना गर्दै २१ वर्षीया उमाले राष्ट्रिय क्रिकेट टोलीमा स्थान बनाएकी छिन् ।
उमा पूर्वोत्तर राज्यबाट सिनियर महिला टोलीमा स्थान बनाउने पहिलो महिला क्रिकेटर बनेर इतिहास पनि रचेकी छिन् ।
गत महिना हङकङमा खेलिएको एसीसी महिला इमर्जिङ टिम एसिया कप २०२३ मा उमाले उत्कृष्ट विकेटकिपर ब्याट्सम्यानका रुपमा निकै चर्चा पाइन् ।
महिला इमर्जिङ एसिया कपमा बंगलादेशविरुद्धको फाइनलमा ३१ रनले जित हात पार्दा उमाको ब्याटिङ र विकेट पछाडिको प्रभावशाली प्रदर्शनले छनोटकर्ताको ध्यान तान्यो ।
उमाले स्कुल पढ्दा देखी नै क्रिकेट खेल्न थालेकी थिइन् ।
उनका क्रिकेट प्रशिक्षक महबुब आलम भन्छन्, "उमाले बोकाखात हिन्दी हाईस्कूलमा पढ्दा केटाहरूसँग क्रिकेट खेल्न थालिन्। केही दिनपछि उमाको खेलबाट प्रभावित भएर विद्यालयका विद्यार्थी मन्टुकुमार यादवले उनलाई सहिदुर रहमान उर्फ राजासँग परिचय गराए। र उनलाई कोचिङमा ल्यायो। त्यसपछि उसले हाम्रो कोचिङ सेन्टर बोकाखात टाउन क्रिकेट क्लबमा प्रशिक्षण लिन थालिन्।"
उमाको घरको आर्थिक अवस्था राम्रो नभएको कारण उनको खेल प्रतिको लगाव देखेर कोचिङका लागि कुनै पनि शुल्क नलिएको मेहबुब बताउँछन् ।
उनी भन्छन्, "उमा सुरुदेखि नै राम्रो खेलाडी थिइन्। मैले उमासँग कोचिङ शुल्क मागेँ भने उनी क्रिकेट खेल्न आउँदैनन् भन्ने मलाई थाहा थियो। उनले छोटो समयमा जिल्ला र पछि प्रदेशस्तरमा खेल्न थालेकी थिइन् ।"
उमाको यो सफलतामा उनकी आमा दीपा क्षेत्रीले निकै संघर्ष गर्नुपरेको थियो ।
छोरीलाई यही खेलमा प्रोत्साहन गर्न दिपाले घरमै कुखुरापालन गर्ने गरेकी छिन् । उमालाई गुवाहाटी शिविरमा पठाउन कुखुरा बेचेर पैसा दिने गरेको दिपाले बताईन् ।
छोरीको यो सफलताबारे दीपा भन्छिन्, "उमा तीन वर्षको उमेरदेखि नै केही न केही खेल्थिन् । उनी सानो छदा भएपछि मैले उनलाई प्लाष्टिकको ब्याट र बल किनिदिए । त्यसपछि उनी स्कुल जान थालिन । र केटाहरु सँगै क्रिकेट खेल्न थालिन् ।"
"मलाई उमाले क्रिकेट खेलेको मन पर्थ्यो। तर गाउँका धेरैले उनलाई हाफ प्यान्ट लगाएर बेलुका ढिलो आएको भन्दै जिस्काउने गर्थे । तर मैले उनलाई खेल्नबाट कहिल्यै रोकिनँ ।आज ती सबै मानिसहरूले हामीलाई बधाई दिइरहेका छन्।”
दीपा भन्छिन्, "हामीलाई क्रिकेटमा उमालाई अगाडी बढाउन सजिलो थिएन। क्रिकेट खेल्ने उपकरण धेरै महँगो हुन्छ। हामीसँग ब्याट, प्याड, जुत्ता, लुगाका लागि त्यति पैसा थिएन। साथै खेलाडीले राम्रो खाना पनि खानुपर्छ। तर यी सबैको बावजुद उमाले कहिल्यै हार मानिनन्। क्रिकेटप्रति उनको लगाव यस्तो थियो कि उनी बाढीको बेला पनि बोकाखातमा आफ्नो साथीको घरमा अभ्यास गर्थिन्।"
उमा चार दाजुभाइमध्ये कान्छी र परिवारकी एक्ली छोरी हुन् । उमाका बुबा लोकबहादुर क्षेत्री अरूको खेतमा काम गर्छन् र त्यहाँबाट जति धान हुन्छ, त्यहीबाट उनको परिवार चल्छ। उमाको यो सफलताको बारेमा सोध्दा उनको आमाको अनुहार उज्यालो हुन्छ ।
उनी भन्छन्, "मलाई जीवनको सबैभन्दा ठूलो खुशी मेरी छोरीले दिएकी छिन्। मैले जीवनभर धेरै मेहनत गरेँ। बस्नको लागि राम्रो घर पनि बनाउन सकिन। तर मेरी छोरीले ती सबै दुःखलाई खुसीमा परिणत गरिन्। मैले कहिल्यै सोचेकी थिइन की हाम्रो परिवार छोरी मान्छेले भारतको महिला राष्ट्रिय क्रिकेट टोलीमा खेल्नेछ, तर आज धेरै ठाँउबाट मान्छेहरु हाम्रो घरमा बधाई दिन आइरहेका छन् ।"
उमाको घर रहेको गाउँमा बाढीको समयमा बस्नै मुस्किल हुन्छ ।
उमाका बुबा भन्छन्, "बाढीको समयमा हाम्रो घर जाने कच्ची बाटो पूरै पानीमा डुबेको हुन्छ, त्यसबेला डुङ्गाबाट यात्रा गर्नुपर्ने हुन्छ। पहिले बाढीको पानी हाम्रो घरभित्र पस्ने गथ्यो, तर उमाले स्टेट क्रिकेट खेल्न थालेपछि उनकै सहयोगले घरको आँगन माथि उचालेको छु र अहिले चार कोठाको पक्की घर बनाइरहेको छु ।”
उमा क्षेत्री भारतीय महिला क्रिकेट टोलीमा छनोट भएको खबर आएपछि आसाम सरकारले उनको घर जाने कच्ची सडक कालोपत्रे गर्ने घोषणा गरेको छ ।
उमा हाल गुवाहाटी क्रिकेट एकेडेमीमा प्रशिक्षण गरिरहेकी छिन् र जुलाई ६ मा बंगलादेश प्रस्थान गर्नेछिन् ।
आर्थिक अभाव र यस खेलमा धेरै असुविधाको सामना गर्दै भारतको जर्सी लगाउन लागेकी उमाको कडा मेहनत र हौसलाका बारेमा उनका प्रशिक्षक मेहबुब भन्छन्, "दुई वर्षअघि उमा राज्यबाट खेल्न पञ्जाब गएकी थिइन् । जहाँ उनको भेट भारतीय महिला टोलीको कप्तान हरमनप्रीत कौरसँग भएको थियो ।"
"उमाले पञ्जाबविरुद्ध राम्रो रन बनाएकी थिइन् । जब उनी कोचिङमा फर्किइन्, हरमनप्रीतसँगको भेटको उल्लेख गर्दै उनले भनिन् कि मैले यो खेलमा अझ राम्रो गर्नु पर्छ।त्यसयता उनी भारतीय महिला टोलीमा स्थान बनाउन निरन्तर मेहनत गरिरहेकी थिइन् ।"
उनी भन्छन्, "फाइनल जितेर हङकङबाट फर्किएको रात उनले मलाई भोलिपल्ट अभ्यास गर्नुपर्छ भनेर बोलाएकी थिइन्, मैले उमालाई यति लामो यात्रापछि एक दिन आराम गर्न सल्लाह दिएको थिएँ । भोलिपल्ट बिहान साढे ५ बजे उनी मभन्दा अगाडि मैदानमा आइपुगिन्। खेलप्रतिको यही समर्पणले आज उमालाई शीर्ष स्थानमा पु¥याएको छ ।”
उमाको यात्रा भर्खरै सुरु भएको छ र उमाले जुलाई ९ मा बंगलादेशसँग आफ्नो पहिलो अन्तर्राष्ट्रिय खेल खेल्ने र यस अवसरलाई सदुपयोग गर्न कुनै कसर बाँकी नराख्ने सम्भावना छ ।

टिप्पणी लेख्नुहोस्