एनभिए कपका लागि हेल्प नेपाल स्पोर्ट्स क्लबको टोली घोषणा
काठमाडौंँ । नेपाल भलिबल सङ्घको आयोजनमा शनिबारदेखि काठमाडौंमा सुरु हुने सातौँ प्रधानमन्त्री कप–एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिग–२०८० प्रतियोगिताको लागि टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लबले टोली घोषणा गरेको छ ।
घोषणा गरिएको १२ सदस्यीय पुरुष टोलीको नेतृत्व दिपक थापाले गर्नेछन । टोलीमा ३ जना पाकिस्तानी खेलाडीहरुलाई स्थान दिएको छ । यसै गरी टोलीको मुख्य प्रशिक्षकमा उत्सव खड्का, सहायक प्रशिक्षकमा जितबहादुर केसी र व्यवस्थापकमा झमक नारायण श्रेष्ठ रहेका छन् ।
लिगमा पुरुषतर्फ साविक विजेता त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफ क्लब, नेपाल पुलिस क्लब, गण्डकी प्रदेश भलिबल सङ्घ, टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लब, शैलुङ्ग बागढुङ्गा स्पोर्टस् क्लब रामेछाप र दावाँली मिलन क्लब काठमाडौं गरी सात टोलीको सहभागिता रहनेछ ।
यसैगरी महिलातर्फ नेपाल पुलिस क्लब, होङ्गवाङ्गजी न्यू डायमन्ड यूथ स्पोर्टस् क्लब, नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, एभरेष्ट भलिबल क्लब बुटवल र गण्डकी प्रदेश भलिबल सङ्घ गरी ६ टोलीको सहभागिता रहनेछ ।
लिगको च्याम्पियन टोलीले आगामी डिसेम्बरमा नेपालमा आयोजना हुने पुरुष क्लब च्याम्पियनसिपमा भाग लिन पाउनेछ । यस्तै विजेता टोलीले ६ लाख, उपविजेताले तीन लाख, तेस्रो हुनेले एक लाख ५० हजार र चौथो हुने टोलीले ७५ हजार रुपियाँ पुरस्कार पाउने छ ।
पुरुष तथा महिलातर्फ सर्वोत्कृष्ट खेलाडीलाई जनही ३५ हजार, उत्कृष्ट सर्भर, सेटर, ब्लकर, स्पाईकर, लिवेरो र प्रशिक्षकलाई जनही १५ हजार रुपियाँ पुरस्कार प्रदान गरिनेछ । लिगका खेलहरु राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहल कोर्टमा हुनेछ ।
हेल्प नेपाल स्पोर्ट्स क्लबको टोली : दिपक थापा (कप्तान), सन्जु विक्रम शाह (उपकप्तान), एइमल खान (पाकिस्तान), उस्मान फर्याद अली (पाकिस्तान), मोहमद कसिफ नविद (पाकिस्तान), अमृत केसी, सुरेन्द्र वम, धिरज बस्नेत, सन्तोष मेहता, विष्णु बस्नेत, मनोज श्रेष्ठ र भरत कुमार विक ।

टिप्पणी लेख्नुहोस्