पीएसजीको मुख्य प्रशिक्षकमा एनरिक
काठमाडौं । फ्रान्सको चर्चित क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) को मुख्य प्रशिक्षकमा लुइस एनरिक नियुक्त भएका छन् । पीएसजीले बुधबार राति एनरिकलाई प्रशिक्षकमा नियुक्त गरेको हो ।
स्पेनका ५३ वर्षीय एनरिक स्पेन र बार्सिलोनाका पूर्व प्रशिक्षक हुन । यसअघि पीएसजीको प्रशिक्षक क्रिस्टोफ गाल्तिएर थिए । पीएसजीले क्रिस्टोफलाई बर्खास्त गर्दै एनरिकलाई प्रशिक्षक बनाएको हो । पीएसजी र एनरिकबीच सन् २०२५ सम्म दुई वर्षको सम्झौता भएको छ ।
सन् २०१५ मा बार्सिलोनाको प्रशिक्षक रहेका एनरिकले एकैसिजन बार्सिलोनालाई ला लिगा, कोपा डेल रे र च्याम्पियनसिप लिगसहित ‘ट्रेबल’ उपाधि दिलाएका थिए । त्यतिबेला उनले पारिवारिक कारण देखाउँदै केही समय प्रशिक्षकबाट विश्राम लिएका थिए ।
यस्तै स्पेन सन् २०२२ को विश्वकपमा अन्तिम १६ को खेलमा मोरोक्कोसँग टाइब्रेकरमा पराजित भएपछि उनले स्पेनको प्रशिक्षकबाट राजीनामा दिएका थिए । क्लब फुटबलमा उनले एस रोमा र सेल्टामा पनि काम गरेका थिए ।
एनरिकले पीएसजीको प्रशिक्षक बन्न पाउँदा निकै खुसी लागेको बताएका छन । ‘‘म निकै खुसी छु । नयाँ सहर, नयाँ क्लब र नयाँ मानिससँग काम गर्न उत्साहित छु । मलाई विश्वास छ, हामी राम्रो टिम निर्माण गर्नेछौँ,’’ एनरिकले भने ।
एनरिकलाई भित्र्याएको पीएसजीले पछिल्ला पाँच वर्षमा तीन प्रशिक्षक फेरेको छ । पीएसजीले गत सिजन कीर्तिमानी ११औँ पटक फ्रेन्च लिग उपाधि जितेको थियो ।
तर च्याम्पियनसिप लिगको अन्तिम १६ को खेलमा पीएसजी बायर्न म्युनिखसँग पराजित भयो । च्याम्पियनसिप लिग जित्ने लक्ष्यसहित स्टार खेलाडी अनुबन्ध गर्दै आएको पीएसजीले त्यो सफलता चुम्न भने सकेको छैन ।

टिप्पणी लेख्नुहोस्