स्कटल्याण्डलाई हराउँदै नेदरल्याण्ड्स एकदिवसीय विश्वकपमा छनोट
काठमाडौंँ । स्कटल्याण्डलाई हराउँदै नेदरल्याण्ड्स एकदिवसीय विश्वकप २०२३ मा छनोट भएको छ । बिहीवार (आज) भएको छनोट खेलमा नेदरल्याण्ड्सले स्कटल्याण्डलाई ४ विकेटले पराजित गर्दै भारतको यात्रा तय गरेको हो ।
बुलावायोको मैदानमा पहिले ब्याटिङ गरेको स्कटल्याण्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २७७ रन बनाएको थियो । जवाफमा नेदरल्यान्ड्सले ४२.५ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पुरा गर्यो । नेदरल्यान्ड्सका लागि बास डे लिडेले शतक प्रहार गरे । ९२ बलको सामना गरेका लिडेले १ सय २३ रन बनाए । उनले आफ्नो इनिङ्समा ७ चौका र ५ छक्का प्रहार गरे । ओपनर विक्रमजीत सिंहले ४० रनको महत्वपूर्ण इनिङ खेले । उनले ६ चौका प्रहार गरे ।
विश्वकप २०२३ को टिकट काटेको नेदरल्याण्ड्सले प्रतियोगितामा आफ्नो पहिलो खेल पाकिस्तानविरुद्ध खेल्नेछ । उक्त खेल अक्टोबर ६ तारिखका दिन हैदरावादमा हुनेछ । त्यसपछि टोलीले ९ अक्टोबरमा न्यूजिल्याण्ड र १७ अक्टोबरमा दक्षिण अफ्रिकासँग भिड्ने छ । नेदरल्याण्ड्सले अक्टोबर २१ मा श्रीलंका र २५ मा अष्ट्रेलियाविरुद्ध खेल्नेछ । अक्टोबर २८ मा नेदरल्याण्ड्स र बंगलादेशबीचको खेल हुनेछ । त्यसपछि टोलीले अफगानिस्तान र इंग्ल्याण्डसँग खेल्नेछ । नेदरल्याण्ड्सले नोभेम्बर ११ मा भारतविरुद्ध खेल्नेछ । उक्त खेल बैंगलोरमा हुनेछ ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेको नेदरल्याण्ड्स पहिलो खेलमा जिम्बाब्वेसँग ६ विकेटले पराजित भएको थियो । त्यसपछि टोलीले अमेरिका र नेपाललाई हराएको थियो । नेपाल नेदरल्याण्ड्ससँग ७ विकेटले पराजित भएकोे थियो । वेस्ट इन्डिजसँगको खेल बराबरी खेलेको नेदरल्याण्ड्स श्रीलंकासँग २१ रनले पराजित भएको थियो । त्यसपछि टोलीले ओमान र स्कटल्याण्डमाथि जित हात पारेको थियो ।

टिप्पणी लेख्नुहोस्