आफ्नो करियरको सयौं टेस्टमा २२ रन बनाएर आउट भए स्मिथ
काठमाडौंँ । इंग्ल्याण्ड र अस्ट्रेलियाबीच लिड्सको हेडिङ्लेमा एसेज सिरीज अन्तर्गतको तेस्रो टेस्ट खेल जारी छ । यो खेल स्टिभ स्मिथका लागि निकै विशेष रहेको छ । किनभने यो उनको करियरको सयौं टेस्ट खेल हो । तर स्मिथले यसलाई विशेष बनाउन सकेनन्। उनी पहिलो इनिङ्समा मात्र २२ रन बनाएर आउट भए । स्मिथलाई स्टुअर्ट ब्रोडले आफ्नो शिकार बनाए । स्मिथको करियर अहिलेसम्म शानदार रहेको छ । उनले पछिल्लो पाँच इनिङ्समा कुल १ सय ८८ रन बनाएका छन् ।
एसेजको तेस्रो खेलमा स्मिथ चौथो नम्बरमा ब्याटिङ गर्न उत्रिएका थिए । उनी ३१ बलमा २२ रन बनाएर आउट भए । उनले एक चौका र एक छक्का प्रहार गरे ।
स्मिथले अहिलेसम्म १०० टेस्ट म्याचको १ सय ७६ इनिङ्समा ९ हजार १ सय ३५ रन बनाएका छन् । उनले यो अवधिमा ४ दोहोरो शतक र ३२ शतक प्रहार गरेका छन् । स्मिथले यस फर्म्याटमा ३७ अर्धशतक बनाएका छन् । उनको उत्कृष्ट स्कोर २ सय ३९ रन रहेको छ । उनले १ सय ४२ ओडीआई खेलेका छन् जसमा उनले ४ हजार ९ सय ३९ रन बनाएका छन् । स्मिथले यस फर्म्याटमा १२ शतक र २९ अर्धशतक बनाएका छन् । एकदिवसीयमा उनको उत्कृष्ट स्कोर १ सय ६४ रन रहेको छ ।
अस्ट्रेलियाले २०२३ को एशेज सिरिजको पहिलो दुई खेल जितिसकेको छ । टोलीले पहिलो टेस्ट २ विकेटले जितेको थियो । त्यसपछि दोस्रो खेलमा ४३ रनले जित हात पारेको थियो । उक्त खेल लण्डनको लर्ड्समा खेलिएको थियो । अहिले तेस्रो टेस्ट जारी छ ।

टिप्पणी लेख्नुहोस्