लेख विवरण

पिएसएल टोली मुल्तान सुल्तान्सका मालिकले गरे आत्महत्या

पिएसएल टोली मुल्तान सुल्तान्सका मालिकले गरे आत्महत्या

काठमाडौंँ । पाकिस्तान सुपर लिग (पिएसएल) फ्रेन्चाइज मुल्तान सुल्तान्सका मालिक आलमगीर तरिनले आफैलाई गोली हानेर आत्महत्या गरेका छन् । लाहोरको गुलबर्ग क्षेत्रमा रहेको उनको घरमा ६३ वर्षीय व्यापारीको शव फेला परेको थियो ।

आलमगीर पाकिस्तानको दक्षिणी पञ्जाबमा पानी प्यूरिफिकेशनको व्यवसाय गर्थे। ६३ वर्षीय आलमगीर अमेरिकाको येल विश्वविद्यालयका विद्यार्थी पनि थिए । पाकिस्तानी मिडियाका अनुसार उनको आत्महत्याको कारण भने खुल्न सकेको छैन ।

मुल्तान सुल्तान्सका सीईओ हैदर अजहरले आलमगीरको मृत्यु बारे पुष्टि गरेका छन् । अजहरले आलमगीरको परिवारप्रति गहिरो दुःख र समवेदना व्यक्त गरेका छन्। अजहरले लेखेका छन्, ‘आलमगीर तरिन हाम्रो टोलीका विशेष सदस्य थिए। उहाँको आकस्मिक र असामयिक निधनले हामी मर्माहत भएका छौं । हाम्रो प्रार्थना यस कठिन समयमा उहाँको परिवारसँग छ।

आलमगीरले आफ्नो भतिजा अली खान तरिनसँग सन् २०१८ मा सुल्तान्स फ्रेन्चाइजी किनेका थिए। तरीन परिवार लामो समयदेखि दक्षिण पञ्जाबमा बस्दै आएका छन्। जसको राजधानी मुल्तान हो । सन् २०२१ मा, आलमगीरले आफ्नो भतिजाको शेयर खरिद गरेर टोलीको पूर्ण स्वामित्व लिएका थिए।

मुल्तान सुल्तान्सले सन् २०२१ मा पहिलो पटक पीएसएलको उपाधि जितेको थियो । टोलीले फाइनलमा पेशावर जाल्मीलाई ४७ रनले पराजित गरेको थियो ।

पिएसएल फ्रेन्चाइज लाहोर कलन्दर्सले आलमगीरको निधनमा शोक व्यक्त गर्दै उनको निधनको खबर सुनेर आफूहरु स्तब्ध भएको बताएको छ । फ्रन्चाइजीले एक विज्ञप्तिमा भनेको छ कि हामी यो कठिन समयमा आलमगीर तरिनको परिवार र मुल्तान सुल्तानको साथमा छौं।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.