लेख विवरण

विम्बल्डनमा जोकोभिचको लगातार ३२ औं जित

विम्बल्डनमा जोकोभिचको लगातार ३२ औं जित

काठमाडौंँ । सर्बियाका स्टार टेनिस खेलाडी नोभाक जोकोभिचले विम्बल्डन ओपन टेनिसको क्वाटरफाइनलमा आफ्नो स्थान पक्का गरेका छन् । उनले पोल्याण्डका हुबर्ट हुर्काकजलाई पराजित गर्दै प्रतियोगितामा लगातार ३२औँ जित हात पारेका हुन्। ३६ वर्षीय डिफेन्डिङ च्याम्पियन जोकोभिचले हुर्कजलाई चार सेटको प्रतिस्पर्धामा पराजित गरे । उनले खेल ७-६(६), ७-६-(६), ५-७, ६-४ ले जिते । २३ ग्रान्डस्लाम विजेता जोकोभिचले क्वाटरफाइनलमा रुसका सातौं वरियताका आन्द्रे रुबलेभको सामना गर्नेछन् ।

एकातिर जोकोभिच विजयी भए पनि अर्कोतर्फ पाँचौं वरियताका ग्रीसका स्टेफानोस सित्सिपासले हार बेहोरेका छन् । उनी अमेरिकाका गैर वरीयता क्रिस्टोफर युब्याङ्क्ससँग निराश भए । क्रिस्टोफर पहिलो पटक ग्रान्ड स्लामको मुख्य ड्रमा खेल्दै छन। साथैउनले पहिलो पटक ग्राण्डस्लामको क्वाटरफाइनलमा स्थान बनाएका छन् । क्रिस्टोफरले सित्सिपासलाई ३-६, ७-६(४), ३-६, ६-४, ६-४ को सेटमा हराए।

प्रतियोगितामा विश्व नम्बर तीन खेलाडी ड्यानिल मेदभेदेव क्वाटरफाइनलमा प्रवेश गरेका छन् । उनी चेक गणतन्त्रका जिरी लेहकासँग भिडे्का थिए । चोटका कारण लेहेका खेलबाट बाहिरिपछि मेदभेदेवले वाकओभर पाउदै खेल जिते ।

महिलामा साविक विजेता कजाकिस्तानकी एलेना रिबाकिनाले पनि वाकओभर पाएकी छन् । ब्राजिलकी बिट्रिज हडाड माइया चोटका कारण खेलबाट बाहिरिएपछि उनले वाकओभर पाउदै खेल जितिन् । एलेनाले अब क्वाटरफाइनलमा ट्युनिसियाकी ओन्स जाबेउरसँग खेल्नेछिन् ।

अर्कोतर्फ विश्व नम्बर १ महिला खेलाडी पोल्याण्डकी इन्गा स्विटेकले १४औं वरियताकी बेलिन्डा बेन्सिकलाई ६-७(४), ७-६(२), ६-३ को सोझो सेटमा पराजित गर्दै पहिलो पटक ग्रासकोर्ट ग्रान्डस्लामको क्वाटरफाइनलमा प्रवेश गरिन् । उनले अब वाइल्ड कार्ड मार्फत प्रवेश गरेकी युक्रेनकी एलिना स्विटोलिनासँग प्रतिस्पर्धा गर्नेछिन् । स्विटोलिनाले बेलारुसकी भिक्टोरिया अजारेन्कालाई २-६, ६-४, ७-६ (९) ले पराजित गरिन् । स्विटोलिनाले फ्रेन्च ओपनमा तीन र युएस ओपनमा एउटा च्याम्पियनसिप जितेकी छन्।

चौथो राउण्डमा २५औं वरियताकी अमेरिकी खेलाडी म्याडिसन कीजले १६ वर्षीया रुसी खेलाडी मिरा एन्ड्रिभालाई रोक्न सफल भइन् । दुई घण्टा दुई मिनेटसम्म चलेको खेलमा म्याडिसनले ३-६, ७-६(४), ६-२ ले जित हासिल गरिन्। उनको यो लगातार नवौं जित हो । एक साताअघि म्याडिसनले सातौं डब्ल्यूटीए ट्रफी उचालेकी थिइन्। उनी पछिल्लो पटक सन् २०१५ मा विम्बल्डनको क्वार्टरफाइनलमा पुगेकी थिइन । म्याडिसनले अब दोस्रो वरियताकी आर्याना साबालेन्का र २१औँ वरियताकी एकटेरिना अलेक्जान्ड्रोभाबीचको विजेतासँग खेल्नेछिन् ।

 

 

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.