एसिया कपको खेल तालिकाप्रति बंगलादेश बोर्ड निराशा
काठमाडौंँ । बंगलादेश क्रिकेट बोर्ड (बीसीबी)ले एसिया कप २०२३ को तालिकाप्रति निराशा व्यक्त गरेको छ । अत्यधिक यात्राका कारण आगामी एसिया कपमा असर पर्ने बीसीबीले बिहीबार जनाएको छ ।
प्रतियोगिता हाइब्रिड मोडलमा खेलाइने भएका कारण बंगलादेशले लिग चरणको पहिलो खेल ३१ अगस्टमा श्रीलंकासँग खेल्नेछ । त्यस्तै, सेप्टेम्बर ३ मा लाहोरमा अफगानिस्तानसँग खेल्नेछ । यदि टोली सुपर–४ मा पुग्यो भने फेरि श्रीलंका जानुपर्नेछ ।
बीसीबी क्रिकेट अपरेशन अध्यक्ष जलाल युनुसले बुधबार शेर–ए–बंगला राष्ट्रिय रंगशालामा सञ्चारकर्मीसँग भने, ‘एसीसीको निर्णय भएकाले हामी केही गर्न सक्दैनौँ । सहज बनाउन एसीसी अधिकारीहरूले टोलीलाई चार्टर्ड प्लेनमा यात्रा गराउने निर्णय गरेका छन् ।
उनले भने, ‘हवाई यात्रा गर्दै हुनुहुन्छ भने २ घण्टा अगावै जानुपर्छ । यी सबै चीजहरूको लागि तयारी मानसिक रूपमा तनावपूर्ण छ।
एसिया कपको तयारीका लागि बीसीबीले जुलाई ३१ बाट क्याम्प सुरु गर्ने भएको छ ।
एसिया कप २०२३ हाइब्रिड मोडलमा आयोजना हुनेछ । अर्थात् प्रतियोगिताको पहिलो चार खेल पाकिस्तानमा हुनेछ भने फाइनलसहित बाँकी ९ खेल श्रीलंकामा हुनेछ । प्रतियोगितामा ६ टोलीको सहभागिता रहेको छ । ६ टोलीलाई २ समूहमा विभाजन गरिएको छ । दुवै समूहका शीर्ष २–२ टोली सुपर–४ चरणमा प्रवेश गर्नेछन् ।
समूह ए : नेपाल, भारत र पाकिस्तान ।
समूह बी : श्रीलंका, बंगलादेश र अफगानिस्तान ।

टिप्पणी लेख्नुहोस्