मियामीको डेब्यु खेलमै मेस्सीले गरे गोल
काठमाडौं । अर्जेन्टिनी सुपर स्टार लियोनल मेस्सीले अमेरिकी क्लब इन्टर मियामीमा डेब्यु खेलमै गोल गरेका छन् । गतसाता मात्र मियामीमा अनुबन्ध भएका मेस्सीले लिग्स कप २०२३ अन्तर्गत क्रुज अजुलविरुद्ध गोल गर्दै मियामीमा सुखद डेब्यु गरेका हुन ।
लिग्स कप अन्तर्गत शनिबार बिहान भएको खेलमा मियामीले क्रुज अजुललाई २–१ गोलले हरायो । प्रतिस्पर्धात्मक खेलमा मियामीले ४४औं मिनेटमा सुरुवाती गोल गरेको थियो । रोबर्ट टेलरले गोल गर्दै मियामीको उत्साह जगाएका थिए ।
त्यसपछि ५४औं मिनेटमा क्रुज अजुलका रिएल अन्तुनाले गोल गर्दै खेललाई बराबरीमा ल्याए । अन्तिममा बराबरीमा धकेलिएको खेलको इन्जुरी समयमा मेस्सीले करिव २५ यार्ड टाढाबाट फ्रिकिकमा गोल गर्दै टोलीलाई जिताए । ३६ वर्षको ढल्कँदो उमेरमा मेस्सीले पहिलो पटक युरोप बाहिरको क्लबमा खेलेका हुन ।
यसअघि दुई सिजन फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मा विताएका मेस्सीले त्यसअघि २१ वर्ष स्पेनिस क्लब बार्सिलोनामा विताएका थिए । मेस्सीले मियामीमा सन् २०२५ सम्म रहने सम्झौता गरेका छन् ।

टिप्पणी लेख्नुहोस्