लेख विवरण

लाहिरु थिरिमानेले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

लाहिरु थिरिमानेले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

काठमाडौंँ । श्रीलंकाका दिग्गज खेलाडी लाहिरु थिरिमानेले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । उनले सामाजिक सञ्जाल मार्फत आफ्ना फ्यानलाई यो जानकारी दिएका हुन् । थिरिमाने लामो समय टिमबाट बाहिर रहेका थिए । उनले श्रीलंकाका लागि मार्च २०२२ मा अन्तिम खेल खेलेका थिए। त्यसयता उनी बाहिर थिए । थिरिमानेले एकदिवसीय क्रिकेटमा ४ शतक र टेस्टमा ३ शतक प्रहार गरेका छन् । उनले विकेट पनि लिएका छन् । थिरिमानेले आफ्नो सन्यासलाई लिएर सामाजिक सञ्जालमा एक भावुक पोस्ट सेयर गरेका छन् ।

थिरिमानेले इन्स्टाग्राममा लेखेका छन्, "देशका लागि खेल्न पाउनु मेरो लागि गौरवको कुरा हो । विगत १३ वर्षमा मैले पाएको सुन्दर सम्झनाहरूको लागि धन्यवाद। मेरो यात्राको क्रममा तपाईको शुभकामनाको लागि धन्यवाद। अब अर्को स्टपमा भेटौँला ।” थिरिमानेको यो पोस्टलाई इन्स्टाग्राममा धेरैले लाइक गरेका छन् । यसबारे धेरै किसिमका प्रतिक्रिया पनि आएका छन् ।

थिरिमानेले श्रीलंकाका लागि ४४ टेस्ट खेलेका छन् । यस अवधिमा २ हजार ८८ रन बनाए । उनले टेस्टमा ३ शतक र १० अर्धशतक बनाएका छन् । थिरिमानेको उत्कृष्ट टेस्ट स्कोर १ सय ५५ रन रहेको छ । उनले १ सय २७ एकदिवसीय खेलमा ३ हजार १ सय ९४ रन बनाएका छन् । उनले यस फर्म्याटमा ४ शतक र २१ अर्धशतक बनाएका छन् । एकदिवसीयमा उनको उत्कृष्ट स्कोर १ सय ३९ रन रहेको छ । उनले २६ टी–२० अन्तर्राष्ट्रिय खेलमा २ सय ९१ रन बनाएका छन् । थिरिमानेले प्रथम श्रेणी खेलमा पनि राम्रो प्रदर्शन गरेका छन् । जहाँ उनले २३ शतकसहित ८ हजार ७ सय ९९ रन बनाएका छन् । उनले लिस्ट ए को २ सय ३३ खेलमा ६ हजार ७ रन बनाएका छन्। उनले यस फर्म्याटमा ७ शतक र ४३ अर्धशतक बनाएका छन् ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.