पीएसजी र एमबाप्पेबीचको सम्बन्ध बिग्रियो, क्लबले गर्यो बेच्ने निर्णय
काठमाडौंँ । फ्रान्सेली स्टार फुटबलर केलियन एमबाप्पे र उनको क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)बीचको सम्बन्ध बिग्रँदै गएको छ ।पीएसजी टोली आगामी सिजन अघि जापान भ्रमणमा जाने भएको छ । यस भ्रमणका लागि छनोट भएको टोलीमा एम्बाप्पे परेका छैनन् । यति मात्र होइन, क्लबले उनलाई बेच्ने निर्णय गरेको छ । एम्बाप्पे अहिले ट्रान्सफर बजारमा उपलब्ध छन्।
यसअघि अर्जेन्टिनाका लियोनल मेस्सीले पनि क्लबलाई बिदाइ गरेका थिए । त्यसपछि, कप्तान एम्बाप्पेले आफ्नो सम्झौता जून २०२४ भन्दा लम्ब्याउन नचाहेको बताएका थिए । उनको भनाइले क्लब अचम्ममा परेको थियो ।
एमबाप्पेले सन् २०२२ मा पीएसजीसँग सम्झौता गरेका थिए । उनले सन् २०२५ सम्म टोलीसँग रहने वाचा गरेका थिए । एमबाप्पे र पीएसजीबीच भएको सम्झौता अनुसार उनी सन् २०२४ सम्म क्लबको खेलाडी रहनेछन् । जुन २०२४ पछि एमबाप्पेले एक वर्षको लागि आफ्नो सम्झौता लम्ब्याउन सक्नेछन। उनले एक वर्ष अगाडि नै क्लबलाई पत्र लेखेर जुन २०२४ पछि सम्झौता नबढाउने बताएका छन् । यहीँबाट एमबाप्पे र पीएसजीबीच विवाद सुरुभयो ।
पीएसजी कुनै पनि परिस्थितिमा एमबाप्पेलाई स्वतन्त्र एजेन्टको रूपमा जान दिन चाहँदैन। यसका लागि उसले एम्बाप्पेको नाम ट्रान्सफर बजारमा राखेको छ । पीएसजी एमबाप्पेका लागि अन्य क्लबबाट बोलपत्र सुन्न चाहन्छ। पीएसजीले आफु धोका पाएको महसुस गरेको बुझिएको छ । किनभने एमबाप्पेले रियल म्याड्रिडसँग निःशुल्क स्थानान्तरण गर्न सहमत भइसकेको क्लबलाई लागेको छ ।
यदि एमबाप्पे आफ्नो निर्णयमा अडिग रहेमा पीएसजीले केही दिनमै उनलाई बेच्नेछ । यस्तो अवस्थामा धेरै क्लबहरु एमबाप्पेलाई किन्न चाहन्छन् । जसमा रियल मड्रिड सबैभन्दा अगाडि छ । एम्बाप्पे धेरै वर्षदेखि यो क्लबबाट खेल्न चाहन्थे। उनी बाल्यकालदेखि नै रियल मड्रिड जान चाहन्थे तर कुनै न कुनै कारणले अहिलेसम्म त्यो सम्भव भएको छैन । पीएसजीले बेचेको खण्डमा रियल मड्रिडले एमबाप्पेलाई कुनै पनि हालतमा किन्न चाहन्छ । रियलबाहेक म्यानचेस्टर युनाइटेड, लिभरपुल, चेल्सी पनि यो दौडमा रहेका छन् ।

टिप्पणी लेख्नुहोस्