लेख विवरण

खेलाडीको छलाङ तर पूर्वाधार छैन

खेलाडीको छलाङ तर पूर्वाधार छैन

महेन्द्रनगर । साफ प्रतियोगितामा कुस्तीमार्फत मुलुकलाई पदक जिताउन सफल सुरेश चुनारा र शिवानी दुबे कञ्चनपुरका उत्पादन हुन् । हाल उनीहरु चीनमा हुने १९औँ एसियाली खेलकुद प्रतियोगिताका लागि छनोट समेत भइसकेका छन् ।

नेपाली सेनाको त्रिभुवन आर्मी क्लबमा आवद्ध चुनारा र डडेल्धुराका दुवे मुलुकको प्रतिनिधित्व गर्दै एसियाली खेलअघि प्रशिक्षणका लागि भारत जाँदैछन् । दुवै खेलाडीसँग सुदूरपश्चिमको प्रतिनिधित्व गर्दै तौल समूहमा स्वर्ण पदक जितेको इतिहास छ । साथै १३औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साफ) दुवेले रजत पदक र चुनाराले काष्य जितेका थिए ।

त्यसो त चुनारा र दुवेसँगै कुस्तीबाट साफमा स्वर्ण जित्ने पहिलो नेपाली महिला खेलाडी सङ्गीता धामी र साफमै पदक विजेता खेलाडी महिषा सिंह पनि यहाँकै उत्पादन हुन् । साथै पछिल्लो समय निकै लोकप्रिय बनेको क्रिकेटमा पनि कञ्चनपुरकै खेलाडीको योगदान ठूलो छ । राष्ट्रिय टोलीका भीम सार्की, दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी र प्रदीप ऐर पनि कञ्चनपुरकै उत्पादन हुन् ।

मुलुकलाई विभिन्न खेलमार्फत अन्तर्राष्ट्रिय स्तरमा मुलुकको नाम चिनाउन सफल यहाँका खेलाडीले न्यूनतम पूर्वाधारको सुविधा पनि पाउन नसकेको यहाँका सरोकारवाला गुनासो गर्छन् । यतिबेला कुस्ती खेलाडीहरु जिल्ला खेलकुद विकास समितिको कार्यालयसँगै जोडिएको साँघुरो हलमा प्रशिक्षण गर्न बाध्य छन् । सुदूरपश्चिम प्रदेश सरकारबाट खेलकुद परिषद्ले निर्माण सुरु गरेको कुस्ती हल दुई वर्षभन्दा बढी समयदेखि अलपत्रको अवस्थामा छ भने कहिले बन्ने हो टुङ्गो छैन ।

“कुस्तीका लागि हल बनाउन थालेको तेस्रो वर्ष लाग्यो”, कुस्ती प्रशिक्षक राजेन्द्र चन्दले भने, “यसपाली पनि रु १० लाख बजेट आएको सुनेको छु ।” उनका अनुसार अहिले खेलाडीहरु साँघुरो र अव्यवस्थित स्थानमा प्रशिक्षण गर्न बाध्य छन् ।

कञ्चनपुरमा कुस्तीको विकास खेल आठौंँ वृहत राष्ट्रिय खेलकुद प्रतियोगितापछि भएको उनको भनाइ छ । आठौंँ र नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कञ्चनपुरले कुस्तीमा ११ स्वर्ण, ६ रजत र ८ कास्य पदक जितिसकेको छ । “बिछ्याउने ठाउँ नभएर ‘म्याट कभर’ तेक्वान्दोको हलमा थन्क्याएका छौँ”, चन्दले भने, “अहिलेसम्म साघुँरो हलमा म्याटका भरमा प्रशिक्षण चलिरहेको छ ।”

कुस्तीसँगै पछिल्लो केही वर्षयता कञ्चनपुरले भारोत्तलनमा समेत उत्कृष्ट प्रदर्शन मात्रै गरेको छैन पदक पनि जितेको छ । हाल चीनमा हुने एसियाली खेलकुद प्रतियोगितामा भारोत्तलनबाट पनि कञ्चनपुरका विकास भट्ट र नेपाल प्रहरीका विशालसिंह विष्ट छनोट भइ बन्द प्रशिक्षणमा छन् । दुवै खेलाडी कञ्चनपुरकै उत्पादन हुन् ।

महिलातर्फ भने भारोत्तलनमा त्रिभुवन आर्मी क्लबका शारदा चौधरी र नेपाल प्रहरीका टीकामाया गुरुङ एसियालीका लागि छनोटमा परेका छन् । “चारजना खेलाडी लिएर पोखरामा बन्द प्रशिक्षण भइरहेको छ ।” एसियालीका खेलकुदका लागि नेपालका भारोत्तलन प्रशिक्षक कञ्चनपुरका जीवन गौतमले भने, “एसियाली खेलकुदका लागि बाह्य प्रशिक्षणका लागि पनि पहल हुँदैछ ।” तर खेल र खेलाडीप्रति सरोकारवालाको कुनै चासो नदेखिएको उनको गुनासो छ ।

“पदक ल्याउने भनिएको खेलका लागि न त पूर्वाधार राम्रो छ न त सामग्री नै उपलब्ध हुन्छ”, प्रशिक्षक गौतमले भने, “भनसुनका भरमा मात्रै सहयोग प्राप्त हुने अवस्था हावी बन्दै गएको छ ।” यसअघि कञ्चनपुरबाट प्रतिनिधत्व गर्दै आएका भारोत्तलन खेलाडीलाई खेल पोसाकसमेत दिन आनाकानी गरिएको उनले गुनासो गरे । “जुनियर खेलाडीहरु प्रशिक्षण लागि धेरै आइरहे पनि खेलाउने हल छैन”, उनले भने, “प्रशिक्षणका लागि खेलाडीले हातमा लाउने चकको डिब्बा समेत नपाएको स्थिती छ ।”

जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख गोपालदत्त भट्टले कञ्चनपुरमा दश खेलको प्रशिक्षण भइरहेको बताए । कुस्ती, भारोत्तलन, भलिबल, कबड्डीका साथै कराते,बक्सिङ, एथ्लेटिक्सलगायतका खेलाडी यहाँ प्रशिक्षण गरिरहेका छन् ।

“प्रदेश सरकारको सहयोगमा रु १४ करोड लगानीमा बहुउद्देश्यीय कवर्ड हल बन्दैछ”, भट्टले भने, “तर बजेट र कार्यक्रम नआउँदा जिल्ला तथा प्रदेशस्तरीय खेलकुद प्रतियोगिता आयोजना हुन छाडेका छन् ।”

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.