कोलम्बो टेस्ट : पहिलो इनिङ्समा श्रीलंका १ सय ६६ रनमा रोकियो
काठमाडौंँ । श्रीलंका र पाकिस्तानबीच जारी टेष्ट सिरिजको दोस्रो खेल कोलम्बोमा हुँदैछ । सिंहली स्पोर्ट्स क्लबमा टस जितेर ब्याटिङ रोजेको श्रीलंका पहिलो इनिङ्समा १ सय ६६ रनमा अलआउट भएको थियो ।
जवाफमा पाकिस्तानले पहिलो दिनको खेल समाप्त हुँदा आफ्नो पहिलो इनिङ्समा दुई विकेट गुमाएर १ सय ४५ रन बनाएको छ । टोलीका लागि अब्दुल्लाह शफिक (७४) र कप्तान बाबर आजम (८) रनमा अविजित छन् ।
खेलको पहिलो दिन पाकिस्तानका लागि अब्दुल्लाह शफिकले अविजित ७४, शान मसुदले ५१, बाबर आजमले अविजित ८ र इमाम उल हकले ६ रन बनाए । श्रीलंकाका लागि असिथा फर्नान्डोले दुवै विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको श्रीलंकाको सुरुवात निकै खराब रह्यो । टोलीले ३६ रन बनाउदा ४ विकेट गुमाएको थियो । श्रीलंकाका लागि धनञ्जय डि सिल्भाले ५७ रन बनाए । दिनेश चण्डिमल ३४, रमेश मेन्डिसले २७ र दिमुथ करुणारत्नेले १७ रन बनाए ।
पाकिस्तानका लागि अबरार अहमदले ४ र नसिम शाहले ३ विकेट लिए । शाहिन शाह अफ्रिदीले १ विकेट लिए भने श्रीलंकाका २ ब्याट्सम्यान रनआउट भए ।
यसअघि गालेमा भएको सिरिजको पहिलो टेस्टमा पाकिस्तानले श्रीलंकालाई ४ विकेटले पराजित गरेको थियो । गाले टेस्टको चौथो दिनको दोस्रो इनिङ्समा २ सय ७९ रनमा अलआउट भएको श्रीलंकाले पाकिस्तानलाई १ सय ३१ रनको लक्ष्य दिएको थियो । उक्त लक्ष्य पाकिस्तानले पाँचौं दिन ६ विकेट गुमाएर पूरा गरेको थियो । पहिलो इनिङ्समा दोहोरो शतक प्रहार गरेका साउद शकील प्लेयर अफ दि म्याच भएका थिए ।

टिप्पणी लेख्नुहोस्