लेख विवरण

फिफा महिला विश्वकप : फिलिपिन्स र कोलम्बियाको जित

फिफा महिला विश्वकप : फिलिपिन्स र कोलम्बियाको जित

काठमाडौं । फिफा महिला विश्वकप फुटबलमा फिलिपिन्स र कोलम्बियाले सफलता हात पारेका छन् । समूह ‘ए’ अन्तर्गत मंगलबार भएको खेलमा फिलिपिन्सले न्युजिल्यान्डलाई १–० गोलले हरायो । समूह ‘एच’ को अर्को खेलमा कोलम्बियाले दक्षिण कोरियालाई २–० गोलले स्तब्ध बनायो ।

फिलिपिन्सको जितमा सेरिना बोल्डेनले गोल गरिन् । सेरिनाले २४ओं मिनेटमा गरेको गोल टोलीको जितमा पर्याप्त बन्यो । जितसँगै फिलिपिन्सले दुई खेलबाट तीन अङ्क बनाएको छ । नकआउटमा पुग्ने सम्भावना जीवित राखेको फिलिपिन्स पहिलो खेलमा स्विट्जरल्यान्डसँग २–० गोलले पराजित भएको थियो ।

पराजित न्युजिल्यान्डको पनि तीन अङ्क छ । यस समूहको अन्तिममा रहेको नर्वेको एक अङ्क छ । मंगलबार नै भएको खेलमा नर्वे र स्विट्जरल्यान्डले गोलरहित बराबरी खेल्दै अङ्क बाँडेका हुन् ।

यसैगरी कोलम्बियालाई जिताउन मारिया काटालिना उस्मी पिनेडाले ३०औँ मिनेटमा पेनाल्टी मार्फत सुरुवाती गोल गरिन् । लिन्डा लिजेथ काइसेडो अलेग्रियाले ३९औँ मिनेटमा गोल गरिन् । पहिलो जितसँगै कोलम्बियाले तीन अङ्क बनाएको छ ।

दक्षिण कोरियाले हारबाट विश्वकपको सुरुवात गरेको छ । यस समूहमा जर्मनीको पनि तीन अङ्क छ । जर्मनीले आफ्नो पहिलो खेलमा मोरोक्कोलाई ६–० गोलले पराजित गरेको थियो ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.