लेख विवरण

गौरिकाको राष्ट्रिय कीर्तिमान

गौरिकाको राष्ट्रिय कीर्तिमान

काठमाडौंँ । जापानको फुकुओकामा जारी २०औँ संस्करणको वल्र्ड एक्वाटिक च्याम्पियनसिप–२०२३ मा दक्षिण एशियाली खेलकुद (साग)की स्वर्णधारी गौरिका सिंहले व्यक्तिगत स्पर्धामा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी छन् ।

उनले ५० मिटर ब्याकस्ट्रोकमा आफ्नै नाममा रहेको ३१.८७ सेकेन्डको समयमा सुधार गर्दै ३१.४४ सेकेन्ड खर्चेर नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेको नेपाल पौडी सङ्घका अध्यक्ष अशोक बज्राचार्यले जानकारी दिए । गौरिकाले सन् २०१६ मा भारतमा भएको १२औँ दक्षिण एसियाली खेलकुद प्रतियोगितामा ३१ दशमलव ८७ सेकेन्डको कीर्तिमानी सुधार गरेकी हुन् ।

ओलम्पिक छनोट प्रतियोगितासमेत रहेको उक्त च्याम्पियनसिपअन्तर्गत आजै भएको पुरुषतर्फको एक सय मिटर फ्रिस्टायलमा एलेक्जेन्डर शाहले आफ्नो समयमा सामान्य सुधार गर्दै नयाँ कीर्तिमान कायम गरेका छन् । एलेक्जेन्डरले पुरानो समय ५२.९६ सेकेन्डको समयमा सामान्य सुधार गर्दै ५२.९४ समयका साथ नयाँ रेकर्ड कामय गरेका हुन । उनले हालै सम्पन्न ११औँ एनएसए कप च्याम्पियनसिपमा ५२.९६ सेकेन्ड समयको कीर्तिमान राखेका थिए ।

अब नेपाली खेलाडीको दुई खेल बाँकी छ । भोलि बिहीबार डुबाना लामाले एक सय मिटर फ्रिस्टायल र एलेक्जेन्डरले शुक्रबार ५० मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्ने टिम व्यवस्थापक नरेश वैद्यले जानकारी दिए ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.