नेपाल हक्की सङ्घको विशेष साधारण सभा सम्पन्न
काठमाडौंँ । नेपाल हक्की संघको बिशेष साधारण सभा शनीवार सम्पन्न भएको छ । सभाले नेपाल हक्की संघको विधान २०६८ पहिलो संशोधन २०८० सर्वसम्मतिले पारित गरेको छ ।
साथै सभाले अगामी भाद्र २३ गते काठमाडौंमा संघको साधारण सभा गर्ने निर्णय गरेको छ । संघले राष्ट्रिय खेलकुद विकास ऐन २०७७ अनुसार प्रदेश जिल्ला कार्यसमिती गठन गर्ने भएको छ । यसअघि ३१ सदस्यीय कार्यसमिती रहेको संघ अब आउने साधारण सभा पछि २३ सदस्यीय हुने भएको छ । जसमा अध्यक्ष–१, उपाध्यक्ष–३, महा सचिव–१, सचिव–२, कोषाध्यक्ष–१ र सदस्यहरु–१५ जना रहने भएका छन । राष्ट्रिय खेलकुद विकास ऐन अन्तर्गत यसअघि रहेको क्षेत्रीय संघ अब प्रदेश स्वरुपमा जाने भएको छ ।
कार्यक्रममा प्रमुख अथितिका रुपमा बोल्दै नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवन राम श्रेष्ठले राष्ट्रिय खेलकुद विकास ऐन अन्तर्गत नेपाल हक्की संघ अब नयाँ संरचनामा जान लागेकोले यो खेलको गतिबिधिहरु अब नेपालमा पनि पहिले भन्दा बढी हुने विश्वास ब्यक्त गरे । उनले हक्की संघले अब छिमेकी मुलुक भारत र पाकिस्तानका संघसँग सहकार्य गरी बढी भन्दा बढी फाइदा लिन आग्रह गरे । कार्यक्रममा विभिन्न खेल संघ संस्थाबाट आएका प्रतिनिधिहरुले हक्की खेलको विकास विस्तारका लागि अब संघले तिव्र गतिमा कार्यहरु गनुपर्ने बताए ।
नेपाल हक्की सङ्घका कार्यवाहक अध्यक्ष अनिल प्रसाद शर्माले अब संघ नयाँ संरचनामा जान लागेकोले हक्की खेल अब नेपालमा पनि लोकप्रिय हुने विश्वास ब्यक्त गरे । यसका लागि उनले अब आउने कार्यसमितिले युद्ध स्तरमा काम गनुपर्ने बताए ।
कार्यक्रममा संघका केन्द्रिय सदस्य असिम शर्माले एशियाली हक्की महासंघबाट आएको शुभकामना सन्देश पढेर सुनाएका थिए । साधारण सभामा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवन राम श्रेष्ठ, नेपाल बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङ, नेपाल राफ्टिङ तथा क्यानोइङ संघका अध्यक्ष राजीव श्रेष्ठ, नेपाल सुटिङ संघका अध्यक्ष पुरुषोत्तम श्रेष्ठ तथा जिल्ला हक्की संघका प्रतिनिधिहरु र केन्द्रीय कार्यसमितिका प्रतिनिधि तथा सदस्यहरुको उपस्थिती रहेको थियो ।

टिप्पणी लेख्नुहोस्