लेख विवरण

पटेला स्मार्ट क्लबलाई खेल सामग्री सहयोग

पटेला स्मार्ट क्लबलाई खेल सामग्री सहयोग

धनगढी । सुदूरपश्चिम–११ स्पोर्ट्स क्लबले पटेला स्मार्ट क्लबलाई खेल सामग्री सहयोग गरेको छ ।

पटेला स्थित फुटबल मैदानमा एक कार्यक्रमको आयोजना गरी सुदूरपश्चिम–११ स्पोर्ट्स क्लबले पटेला स्मार्ट क्लबलाई ११ वटा बल, ४५ जर्सी सेट, ३० टिसर्ट, २६ क्याप, कोन, मार्कर सहितको खेल सामाग्री सहयोग गरेको हो ।

सुदूरपश्चिम–११ का अध्यक्ष सुरेश हमालले पटेला स्मार्ट क्लबका अध्यक्ष मुकेश चौधरीलाई खेल सामग्री हस्तान्तरण गरे । धनगढीको ग्रामीण इलाकामा रहेका २५ जना पुरुष र १५ जना महिला फुटबलरलाई छनोट गरि पटेला स्मार्ट क्लबमा प्रशिक्षण गराउने उद्देश्यका साथ सुदूरपश्चिम–११ ले खेल सामाग्री सहयोग गरेको हो ।

यसका साथै दुवै क्लबबीच दुई वर्षको रणनीतिक सम्झौता पनि भएको छ । क्लबको आन्तरिक व्यवस्थापन पटेला स्मार्ट आफैले हेर्ने तथा पटेलालाई आवश्यक पर्ने प्रशिक्षक सहितको खेल सामाग्री सुदूरपश्चिम–११ ले सहयोग गर्ने विषयमा सम्झौता भएको हो ।

सुदूरपश्चिम–११ स्पोर्ट्स क्लबले पटेला स्मार्ट क्लबमा खेलाडीलाई प्रशिक्षणको व्यवस्था र प्रशिक्षक सहितको सामाग्री सहयोग गर्नेछ । सुदूरपश्चिम–११ का अध्यक्ष सुरेश हमालले ग्रामीण क्षेत्रमा रहेका फुटबल खेलाडीलाई राम्रो प्रशिक्षण दिने उद्देश्यले पटेला स्मार्ट क्लबसँग सहकार्य गरेको बताए ।

उनले दुई वर्षे सम्झौताबाट ग्रामीण क्षेत्रमा रहेका फुटबल खेलाडीहरूले नियमित प्रशिक्षण पाउने र उत्कृष्ट खेलाडीले सुदूरपश्चिम–११ स्पोर्ट्स क्लबबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न अवसर पाउने पनि बताए ।

पटेला स्मार्ट क्लबका अध्यक्ष मुकेश चौधरीले सुदूरपश्चिम–११ सँगको सहकार्यले क्लबको गतिविधि अघि बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.