इंग्ल्याण्डका ओपनर एलेक्स हेल्सद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा
काठमाडौं । इंग्ल्याण्डका ओपनर एलेक्स हेल्सले ३४ वर्षको उमेरमा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । हेल्सको अन्तर्राष्ट्रिय करियर खासै लामो रहेको छैन । उनी पछिल्लो एक वर्षदेखि इङ्ल्यान्डको टी–२० फर्म्याटमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका थिए ।
अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गर्दै हेल्सले इन्स्टाग्राममा लेखेका छन्, 'म तपाईंहरु सबैलाई यो जानकारी दिन चाहन्छु कि मैले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने निर्णय गरेको छु । तीनै फर्म्याटमा देशका लागि १ सय ५६ म्याच खेल्न पाउनु मेरो लागि गर्वको कुरा हो ।'
उनले भने, 'मैले यो समयमा केही सम्झना र साथीहरू बनाएको छु जुन मेरो बाँकी जीवनको लागि मसँग रहनेछ। मलाई लाग्छ कि यहाँबाट अगाडि बढ्ने समय आएको छ र त्यसैले मैले सन्यासको घोषणा गरेको छु ।'
सन् २०२२ मा अस्ट्रेलियामा भएको टी–२० विश्वकपमा एलेक्स हेल्सले इंग्ल्यान्डलाई विजेता बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए । हेल्सले इंग्ल्यान्डका लागि ११ टेस्ट, ७० एकदिवसीय र ७५ टी–२० खेलेका छन् । यस अवधिमा उनले टेस्टमा ५७३ रन र ५ अर्धशतक बनाएका छन् । यस्तै एकदिवसीय क्रिकेटमा ६ शतक र १४ अर्धशतक सहित २ हजार ४१९ रन बनाएका छन् । हेल्सले टी–२० अन्तर्राष्ट्रियमा १ शतक र १२ अर्धशतक सहित २ हजार ७४ रन बनाएका छन् ।

टिप्पणी लेख्नुहोस्