टी–२० सिरिजमा भारतको लगातार दोस्रो हार, वेस्ट इन्डिज २ विकेटले विजयी
काठमाडौंँ । टी–२० सिरिजको दोस्रो खेलमा वेस्ट इन्डिजले भारतलाई २ विकेटले पराजित गरेको छ । सिरिजमा भारतीय टोलीको यो लगातार दोस्रो हार हो । टस जितेर पहिले ब्याटिङ गरेको भारतले वेस्ट इन्डिजलाई १ सय ५३ रनको लक्ष्य दिएको थियो । जवाफमा वेस्ट इन्डिजले १८.५ ओभरमा ८ विकेट गुमाएर लक्ष्य पुरा गर्यो ।
टोलीको जितमा वेस्ट इन्डिजका निकोलस पूरनले ६७ रनको उत्कृष्ट इनिङ खेले। उनले ४० बलमा ६७ रन बनाए । पूरनको इनिङ्समा ६ चौका र ४ छक्का समावेश थियो । अन्य खेलाडीमा हेटमायरले २२ बलमा २२ रन बनाए । कप्तान रोभम्यान पावेलले १९ बलमा २१ रनको योगदान दिए । काइल मेयर्स १५ रन बनाएर आउट भए । उनको इनिङ्समा २ चौका र १ छक्का समावेश थियो । ब्रान्डन किङ, जेसन होल्डर र शेफर्ड शून्यमा आउट भए । भारतका हार्दिक पाण्ड्याले ३ विकेट लिए । युजवेन्द्र चहलले २ सफलता हात पारे ।
यसअघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ७ विकेट गुमाएर १५२ रन बनाएको थियो । टोलीका लागि तिलक वर्माले ४१ बलको सामना गर्दै ५१ रन बनाए । इशान किशनले २३ बलमा २७ रन बनाए । हार्दिक पाण्ड्याले २४ रनको योगदान दिए । अक्षर पटेल १४ रन बनाएर आउट भए । अर्शदीप सिंह ६ र रवि बिश्नोईले ८ रनमा अविजित रहे । सूर्यकुमार यादव १ रन बनाएर आउट भए । शुभमनले ७ रन बनाए ।
वेस्ट इन्डिजका लागि अल्जारी जोसेफले ४ ओभरमा २८ रन दिएर २ विकेट लिए । रोमारियो शेफर्डले ३ ओभरमा २८ रन दिएर २ विकेट लिए । हुसेनले ४ ओभरमा २९ रन दिएर २ विकेट लिए ।

टिप्पणी लेख्नुहोस्