लेख विवरण

आलमले अब अमेरिकाबाट क्रिकेट खेल्ने

आलमले अब अमेरिकाबाट क्रिकेट खेल्ने

काठमाडौंँ । पाकिस्तानी क्रिकेट टोलीका ब्याट्सम्यान फवाद आलमले अब अमेरिकाबाट क्रिकेट खेल्ने भएका छन् । पाकिस्तानका लागि क्रिकेटमा झण्डै १५ वर्ष बिताएका आलमले शिकागो किंग्सम्यानका लागि माइनर टी-२० क्रिकेट लिग खेल्ने भएका छन । उनले अब पाकिस्तानका लागि नखेल्ने क्रिकबजले जनाएको छ ।

करिब ११ वर्षपछि सन् २०२० मा टेस्ट क्रिकेटमा फर्किएका फवादले अस्ट्रेलिया विरुद्धको सिरिजमा खराब प्रदर्शन गरेपछि टोलीबाट बाहिरिएका थिए ।

सन् २००३ मा प्रथम श्रेणी क्रिकेटमा डेब्यु गरेका फवादले २०१ खेलको ३१४ इनिङ्समा १४ हजार ५ सय २६ रन बनाएका छन् । यस अवधिमा उनले २५६ रनको उत्कृष्ट स्कोरका साथ ४३ शतक र ७० अर्धशतक बनाएका छन् । प्रथम श्रेणी क्रिकेटमा फवाद ५३ पटक अविजित रहेका छन । उनले अन्तिम प्रथम श्रेणी खेल नोभेम्बर २०२२ मा खेलेका थिए।

फवादले पाकिस्तानका लागि आफ्नो पहिलो टेस्ट सन् २००९ मा श्रीलंकाविरुद्ध खेलेका थिए। उनले १९ टेस्टको ३० इनिङ्समा १ हजार ११ रन बनाएका छन् । यस अवधिमा उनले १६८ रनको उत्कृष्ट स्कोरका साथ ५ शतक र २ अर्धशतक प्रहार गरेका छन् ।

फवादले पाकिस्तानका लागि ३८ एकदिवसीय र २४ टी–२० अन्तर्राष्ट्रिय खेलेका छन् । एकदिवसीय क्रिकेटमा उनले ४०.२५ को औसतमा ९६६ रन बनाएका छन् । एकदिवसीयमा फवादले १ सय १४ रनको उत्कृष्ट स्कोरका साथ १ शतक र ६ अर्धशतक बनाएका छन् ।

टी–२० क्रिकेटमा फवादले पाकिस्तानका लागि २४ खेल खेलेका छन् र १७ इनिङ्समा १७.६३ को औसतले १ सय ९४ रन बनाएका छन् । फवादले एकदिवसीय क्रिकेटमा ५ विकेट र टी–२० क्रिकेटमा ८ विकेट लिएका छन् ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.