मेस्सीले गोलको लय कायम राख्दा इन्टर मियामी लिग्स कपको फाइनलमा
काठमाडौं । अर्जेन्टिनी स्टार लियोनल मेस्सीले लिग्स कप–२०२३ मा गोल गर्ने क्रमलाई निरन्तरता दिएका छन् । मेस्सीले छैटौं खेलमा गोलको लय कायम राख्दा अमेरिकी क्लब इन्टर मियामी लिग्स कपको फाइनलमा प्रवेश गरेको छ ।
मङ्गलबार राति भएको सेमिफाइनल खेलमा मियामीले फिलाडेल्फिया युनियनलाई ४–१ गोलले हरायो । मियामीको जितमा जोसेफ मार्टिनेजले तेस्रो, कप्तान लियोनेल मेस्सीले २०औं, जोर्डी अल्बाले पहिलो हाफको इन्जुरी र डेविड अोचोआले ८४औं मिनेटमा गोल गरे ।
मेस्सीले जारी प्रतियोगितामा नौ गोल गरिसकेका छन् । मेस्सीले लगातार छैटौं खेलमा पनि गोल गरे । घरेलु टोली फिलाडेल्फियाका आलेहान्द्रो बेडोयाले दोस्रो हाफमा सान्त्वना गोल फर्काएका थिए । फाइनलमा मियामीले नाशभिल र मोन्टरेबीचको विजेतासँग शनिबार खेल्नेछ ।

टिप्पणी लेख्नुहोस्