लेख विवरण

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको बिदाइ

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको बिदाइ

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आइसिसी टी–२० महिला विश्वकपको एशिया क्वालिफायरको तयारीका लागि मलेसियामा जाने नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको बिदाइ गरेको छ ।

नेपालले टी–२० विश्वकपको छनोट यात्राका लागि मलेसियामा चार राष्ट्र सम्मिलित टी–२० श्रृंखला खेल्दैछ । सोही श्रृंखला खेल्ने जाने नेपाली टोलीको बुधवार मुलपानीस्थित नेपाल क्रिकेट संघ (क्यान) को कार्यलयमा बिदाइ गरिएको हो ।

खेलाडीलाई क्यानका कार्यवहाक सचिव दुर्गाराज पाठक र कोषाध्यक्ष रोशनबहादुर सिंहले बिदाइ गरे । नेपालले आगामी अगस्ट ३१ देखि सेप्टेम्बर ९ सम्म मलेसियामा आइसीसी टी–२० महिला विश्वकपको एशिया क्वालिफायर खेल्दैछ ।

सोही छनोटको तयारीका लागि नेपाली महिला टोलीले मलेसियामा श्रृंखला खेल्न लागेको हो । नेपालले घरेलु टोली मलेसियासहित कुवेत र हङकङसँग श्रृंखलामा प्रतिस्पर्धा गर्नेछ । उक्त श्रृंखला आगामी अगस्ट २२ देखि २६ सम्म वायुमास ओभलमा हुनेछ ।

पाँच दिन चल्ने श्रृंखलाको शीर्ष स्थानमा रहने टोलीले फाइनल खेल्नेछन् । बाँकी दुई टोलीले तेस्रो स्थानको लागि खेल्ने तालिका छ । नेपालले पहिलो खेल अगस्ट २२ मा हङकङ र दोस्रो खेल अगस्ट २३ मा कुवेतसँग खेल्नेछ ।

नेपालले एक दिनको विश्रामपछि अगस्ट २५ मा घरेलु टोली मलेसियाको सामना गर्ने तालिका छ । फाइनल खेल अगस्ट २६ मा हुनेछ ।

क्यानले टी–२० विश्वकपको एशिया क्वालिफायरका लागि रुविना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय नेपाली टोली घोषणा गरेको थियो ।

भारतीय प्रशिक्षक देविका दिलिप पल्सिकरको प्रशिक्षणमा रहेको प्रारम्भिक टोलीबाट गत बिहीबार मात्रै रुविनाको नेतृत्वमा नेपाली टोली घोषणा गरिएको हो । खुशी डंगोल, रुवि पोदार र पूजा महतोले पहिलोपटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन ।

टोलीको अन्य सदस्यमा सीता रानामगर, इन्दु बर्मा, विन्दु रावल, कविता कुँवर, कविता जोशी, सम्झना खड्का, ईश्वरी बिष्ट, काजोल श्रेष्ठ, अप्सरी बेगम र अस्मिना कर्माचार्य रहेका छन ।

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.