जेबोरलाई हराउदै मार्केटा भोन्ड्रोसोभाले जितिन् महिला एकलको उपाधि
काठमाडौंँ । चेक गणतन्त्रकी टेनिस खेलाडी मार्केटा भोन्ड्रोसोभाले विम्बल्डन महिला सिंगल्सको उपाधि जितेकी छिन् । फाइनलमा छैटौं वरियताकी ट्युनिसियाली ओन्स जेबोरलाई ६–४, ६–४ ले हराउदै गैर वरीयताकी भोन्ड्रोसोभाले करियरको पहिलो सिंगल्स ग्राण्डस्लाम उपाधि जितिन्। उनी ओपन एरामा यो ट्रफी जित्ने पहिलो महिला खेलाडी हुन् । भोन्ड्रोसोभा यो उपाधि जित्ने चेक गणतन्त्रकी तेस्रो महिला पनि हुन् ।
यसअघि मार्टिना नवरातिलोभाले ९ पटक विम्बल्डन जितिसकेकी छिन् भने पेट्रा क्विटोले २ पटक जितेकी छिन् । भोन्ड्रोसोभाले गत वर्ष चोटका कारण प्रतियोगिता खेल्न सकेकी थिइनन् । प्रतियोगितामा उनी दर्शकको रूपमा सहभागि भएकी थिइन्। अहिले उनी ग्राण्डस्लाम विजेता बनिन् ।
२४ वर्षीया भोन्ड्रोसोभा प्रतियोगिता सुरुहुनु अघि डब्लुटीए स्ट्यान्डिङमा ४२ औं नम्बरमा थिइन् । यो जितले उनलाई सोमबार घोषणा हुने नयाँ वरियतामा शीर्ष १० मा पुग्न मद्दत पुग्नेछ । यो भोन्ड्रोसोभाको करियरको दोस्रो ग्रान्डस्लाम फाइनल थियो। सन् २०१९ मा उनी फ्रेन्च ओपनको उपविजेता भएकी थिइन् ।
प्रतियोगिताको फाइनलपछि दर्शकको ध्यान उपविजेता ओन्स जेबोरमाथी अडिएको थियो । उनी उपविजेता भएपछि निकै भावुक भइन । जेबोर गत वर्ष फाइनलमा एलिना रिबाकिनासँग पराजित भएकी थिइन् । यति मात्र होइन, उनले गत वर्ष युएस ओपनको फाइनलमा पनि हार बेहोरेकी थिइन । उपविजेता भएपछि अन्तर्वार्ताको क्रममा जेबोरले यो उनको करियरको सबैभन्दा पीडादायी क्षण भएको बताइन । तर उनले भविष्यमा ग्रान्डस्लाम जित्ने आशा व्यक्त गरिन।
भोन्ड्रोसोभाले जितसँगै २३.५० लाख पाउण्ड प्राप्त गरिन । सन् २०१७ को विम्बल्डनपछि महिला एकल उपाधि कमै नयाँ खेलाडीहरूले जितेका छन्।

टिप्पणी लेख्नुहोस्