युरोपेली फुटबलमा सावित्राको डेब्यु गोल
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ले युरोपेली फुटबलमा डेब्यु गोल गरेकी छन् ।
हालै इजरायली क्लब हापोएल रानाना एएफसीमा अनुबन्ध भएकी सावित्राले नयाँ सिजनको पहिलो खेलमा हादेराविरुद्ध गोल गरेकी हुन । बिहीबार राति भएको खेलमा हापोएल रानानाले हादेरा क्लबलाई २–० गोलले हरायो ।
हापोएलको जितमा गोल्डेन र सवित्राले एक एक गोल गरे । नेपालको घरेलु लिग र राष्ट्रिय टोलीमा समेत सर्वाधिक गोल कर्ता सावित्राले घरेलु फुटबलमा विभागीय टोली नेपाल एपिएफ क्लबबाट खेल्दै आएकी थिइन ।
उनले यसअघि भारतमा दुई फरक क्लबबाट खेल्दै तीन वटा लिग उपाधि जितिसकेकी छन । उनले गत सिजन भारतको महिला लिगमा गोकुलम केरलाबाट खेल्दै टोलीलाई लिग च्याम्पियन बनाएकी थिइन ।
लिगमा २९ गोल गर्दै उनले सर्वाधिक गोल कर्ताको उपाधि समेत जितेकी थिइन । गोकुलम अघि उनले सेथु एफसीबाट भारतको लिग खेलेकी थिइन । भारतको लिगमा सानदार प्रदर्शन गरेपछि सावित्रा युरोपेली क्लबको आँखामा परेकी हुन ।

टिप्पणी लेख्नुहोस्