शाहिद अफ्रिदी अमेरिकी टोलीको नयाँ कप्तान
काठमाडौंँ । अमेरिकामा भर्खरै मेजर लिग क्रिकेटको पहिलो सिजन सकिएको छ । अब अमेरिकामा नयाँ क्रिकेट लिग आयोजना हुन लागेको छ । नयाँ टी–१० लिग (आज) अर्थात् अगस्ट १८ गतेबाट सुरु हुँदैछ । जसमा विश्वभरका दिग्गज खेलाडीहरुले खेल्दैछन् । लिगमा गौतम गम्भीरदेखि शाहिद अफ्रिदीसम्मले खेल्दैछन् । पाकिस्तानका पूर्व कप्तान शाहिद अफ्रिदी युएसए टी-१० लिगमा न्यूयोर्क वारियर्सबाट खेल्ने भएका छन् ।
४६ वर्षीय अनुभवी ब्याट्सम्यान अफ्रिदीले सन् २०१७ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए । त्यसयता उनी विदेशी लिग र पाकिस्तान सुपर लिगमा खेल्दै आएका छन् । एकदिवसीय क्रिकेटमा एसियाली खेलाडीमध्ये सबैभन्दा छिटो शतक बनाउने कीर्तिमान पनि शाहिद अफ्रिदीको नाममा छ । सन् २००७ मा भारतले टी–२० विश्वकप जित्दा साहिद अफ्रिदीलाई ‘प्लेयर अफ द टुर्नामेन्ट’को उपाधि पनि दिइएको थियो।
अब विश्व क्रिकेटले फेरि एकपटक शाहिद अफ्रिदीको धमाकेदार ब्याटिङ हेर्न पाउने भएका छन् । अफ्रिदी यूएस मास्टर्स टी-१० लिगमा न्युयोर्क वारियर्समा आवद्ध छन् । उनी टोलीको कप्तान पनि हुन् ।
अमेरिकामा सुरु भएको नयाँ टी–१० लिगमा कुल ६ टोलीको सहभागिता रहेको छ । युएस मास्टर्स टी-१० नाम रहेको लिगको यो पहिलो सिजन हो। लिगमा कुल ६ टोलीहरू एटलान्टा राइडर्स, क्यालिफोर्निया नाइट्स, न्यूयोर्क वारियर्स, टेक्सास चार्जर्स, न्यू जर्सी लेजेन्ड्स र मोरिसभिल युनिटी सहभागी छन्। लिगको पहिलो खेल (आज) अर्थात् अगस्ट १८ मा एट्लान्टा राइडर्स र टेक्सास चार्जर्सबीच हुनेछ ।

टिप्पणी लेख्नुहोस्