स्पेनले पहिलो पटक जित्यो महिला विश्वकप फुटबलको उपाधि
काठमाडौंँ । फिफा महिला विश्वकप २०२३ को फाइनल खेलमा स्पेनले इंग्ल्याण्डलाई १–० ले हराउँदै पहिलो पटक उपाधि जित्न सफल भएको छ । अस्ट्रेलियाको सिड्नी रंगशालामा भएको खेलमा स्पेनका लागि एक मात्र गोल पहिलो हाफको २९ औं मिनेटमा ओल्गा कार्मोनाले गरिन । उनले गरेको गोल नै खेलमा निर्णायक सावित भयो र स्पेनले महिला विश्वकप उपाधि जित्यो ।
सेमिफाइनलमा स्विडेनलाई २–१ गोलले पराजित गर्दै स्पेन पहिलो पटक प्रतियोगिताको फाइनलमा प्रवेश गरेको थियो । इंग्ल्याण्डले सेमिफाइनलमा आयोजक अष्ट्रेलियालाई ३–१ ले हराउदै फाइनलमा प्रवेश गरेको थियो । टोलीको यो पहिलो फिफा महिला फाइनल खेल थियो । स्पेनिस टोली फिफा महिला विश्वकपको उपाधि जित्ने पाँचौं टोली बनेको छ ।
महिला विश्वकप फुटबलको उपाधि अहिलेसम्म अमेरिकाले ४ पटक, जर्मनीले २ पटक, नर्वे र जापानले १–१ पटक जितेको छ ।

टिप्पणी लेख्नुहोस्