लेख विवरण

एसिया कपबाट बाहिरिए यी ठूला खेलाडी

एसिया कपबाट बाहिरिए यी ठूला खेलाडी

काठमाडौंँ । एशिया कप २०२३ को सुरुवात अगस्ट ३० बाट पाकिस्तान र श्रीलंकामा हुँदैछ । प्रतियोगितालाई मध्यनजर गर्दै बीसीसीआईले आज भारतीय टोली घोषणा गरेको छ । टोलीको कप्तानी अनुभवी ब्याट्सम्यान रोहित शर्माको हातमा हुनेछ । जबकि उपकप्तान हार्दिक पाण्डेय रहनेछन् । योसँगै युवा खेलाडी तिलक वर्माले एसिया कपका लागि भारतीय टोलीमा मौका पाएका छन् । यसबाहेक केही ठूला भारतीय नाम टोलीबाट काटिएका छन् ।

युजवेन्द्र चहल : भारतीय क्रिकेट टोलीका जादुई लेग स्पिनर युजवेन्द्रले एसिया कपका लागि भारतीय टोलीमा स्थान बनाउन सकेनन् । यसअघि उनी सन् २०२१ को टी(२० विश्वकपमा पनि भारतीय टोलीमा अटाएका थिएनन्। त्यसपछि सन् २०२२ को टी–२० विश्वकपमा उनलाई टोलीमा समावेश गरिएको थियो । तर उनले एक खेल खेल्ने मौका पनि पाएनन् ।

शिखर धवन : भारतीय टोलीमा गब्बर उपनामले प्रसिद्ध अनुभवी ओपनर शिखर धवन पनि यस पटकको एसिया कपका लागि टोलीमा पर्न असफल रहे । उनी एक प्रतिभावान खेलाडी हुन । तर यसपटक गब्बरलाई भारतीय छनोट टोलीले विश्वास गरेन । उनी केही समयदेखी टोली बाहिर रहेका छन् । सन् २०२२ को डिसेम्बरमा बंगलादेशविरुद्ध खेलेको एकदिवसीय शृंखलापछि धवनले भारतीय एकदिवसीय टोलीमा स्थान बनाउन सकेका छैनन् । यसबाट धवन भारतको विश्वकप टोलीमा पनि नपर्ने स्पष्ट भएको छ । किनभने विश्वकप र एसिया कपका लागि भारतीय टोली लगभग एउटै हुने अपेक्षा गरिएको छ ।

भुवनेश्वर कुमार : भारतीय टोलीका अनुभवी फास्ट बलर भुवनेश्वर कुमार पनि एसिया कपका लागि छनोट भएका छैनन् । उनी भारतका अनुभवी फास्ट बलर हुन्। भुवनेश्वर केही समय देखी टोली बाहिर रहेका छन् । त्यसपछि उनले पनि धवन जस्तै टोलीमा कमब्याक गर्न सकेका छैनन् । भुवनेश्वरका लागि पनि यसपटकको विश्वकप खेल्नु लगभग असम्भव जस्तै छ ।

सञ्जु सामसन : भारतीय टोलीका अनुभवी विकेटकिपर ब्याट्सम्यान सञ्जु सामसनलाई एसिया कप २०२३ मा ब्याकअपको रुपमा राखिएको छ । उनी मुख्य टोलीमा छनोट भएनन् । यदि कुनै खेलाडी घाइते भएमा मात्रै उनले मौका पाउनेछन् । विकेटकिपरको विकल्पमा टोलीमा इशान किशन रहेका छन् । योसँगै केएल राहुलले पनि आवश्यक परे विकेटकिपिङ गर्न सक्छन् ।

रिंकु सिंह : आयरल्याण्ड विरुद्ध भारतका लागि डेब्यु गरेका रिंकु सिंह पनि तिलक वर्माजस्तै टोलीमा पर्ने सबैले आशा गरेका थिए । तर उनी छनोट भएनन् । रिंकु टोलीमा तल्लो मिडल अर्डरमा खेल्न सक्छन र उनले फिनिशरको भुमिका पनि निर्वाह गर्न सक्छन। रिंकुले आयरल्याण्ड विरुद्धको दोस्रो टी(२० मा १८० स्ट्राइक रेटमा ब्याटिङ गर्दै २१ बलमा ३८ रन बनाएका थिए। यस इनिङ्समा उनको ब्याटबाट २ चौका र ३ छक्का प्रहार भएको थियो ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.